शोषितका शब्दहरू
मन र म — मुक्तिनाथ शर्मा 'शोषित'
कविता सङ्ग्रह · प्रथम कृति · २००६

मन र म

MAN RA MA — ५६ कविताहरू · भूमिका: एम 'पथिक', पूलबजार

कविता-सूची हेर्नुहोस् (५६)
समर्पण

सन् १९६० को पुष महिना शुक्ल पक्ष दतिया तिथीको ब्रह्म मुहूर्तमा हामी स-परिवारलाई छोडी स्वर्गारोहण गर्नुहुने पिता स्व० भवानीशंकर शर्मा — जसले मलाई अक्षर ज्ञान दिलाई यो समाजमा जीवन सिकाउनु भयो — उहाँको आत्माले दिगो शान्ती पावस् भनी ईश्वरसँग कामना राख्दै यो "मन र म" नामक कविता सङ्ग्रह समर्पण गर्दछु ।

— मुक्तिनाथ शर्मा

कविता १

आमा

शिरभरी सेतो मजेत्रो ओडेकी आमा हाम्री भारत आमा । सिउँदोभरी सुनौंलो शिरबन्दी लगाएकी आमा छात्तीभरी सन्ततिलाई चुसाउन गंगा यमुनारूपी पयोधर बोकेकी आमा हरियो साडीको बक्षभित्र सागरको आँचल लगाएकी आमा अति हँसिलो मुहार उत्तर मोहोडा गरी पूर्व र पश्चिमभरी बाहुछरी पाइतालाले समतल टेकेकी हाम्री आमा शान्तीको सेतो गुलाब बोकेर मयूर डाँफे र जुरेलीहरूलाई नचाएर कोइलीको भाकामा मीठो गीत गाउँदै हात्ती झें लमक्क लम्कन्दै विश्वलाई नै अंकमाल गर्दै अथक यात्रा हिँड्दैछिन् हाम्री भारत आमा।
कविता २

सन्तोष

उषा पूर्व हाँस्यो काय तनक्क गरी नयन मिरमिराए उठे कृषक जुरूक्क जग जगमगाए बिरक्ती कति छैन उनको गोरू लिई जमीनमा बीउ हाली बस्ती हरियो भइगो प्रकृति रमायो घामै छ तातो दिनहुँ पसिनाको खोला न खान पुग्छ यो परिश्रमको ज्याला त्यान्द्रा छुटेर कपडा तन ढाकिन्दैन बुडिन्छ ज्यान तर रोदन कत्ति छैन। खेती नदेखी बबुरो मन अल्झिन्दैन कालै बिति काल घुमिरहन्छ बाबु बराजू बिते क्रमैले दाह्री फूले कपाल सेताम्मे सारा दाँत झरे अब कुरूप भइगो बिचरा ! धिप धिप टुकी जल्छ साँझ झोपडी छ सानो बस्ने खास निर्लिप्त छन् ती दुःखमा तर शान्त मानो बसी एकैसंग परिवार रमायो भुटी मकै कुटुक्क खुशीले चबायो।
कविता ३

धूर्त माली

मधुरस लिई उ मख्ख पयो फरक्क फर्कि उ दरबारमा पस्यो चटक्क चिटिक्क गुड खूब लायो क्षणमै अति सुन्दर मन्दिर पो सजायो कति तीब्र परिश्रम, आँधी बतास नभनी चिसो वायु तनमा अनगन्ती चलेपनि झिनो सानो छ तर फूर्ति कत्ति मधु बटुल्दछ सुन्दर फूलमा भए जत्ति न त भन्छ घाम न त उसलाई छ झरी न त कपडा नै छन् तन ढाक्ने गरी प्वाँख फूर्र पारी समय गनी-गनी खूब ओसार्दथे मह गुइँमा थुपारौं भनी जब काल उठ्यो र धुँवा लगायो यी पौरख उसको सब नास पार्यो चाका बिथोली पहिरो चलायो चाट्यो ओंठ, खुबै जुंगा मुसार्यो त्यो धूर्त मालि आनन्द मान्यो।
कविता ४

प्रतिक्षा प्रतिक्षा नै रह्यो

प्रतिक्षा कति टाडा हुन्छ क्षितीज जति टाडा छ, त्यतिनै कुरेर बस्दा बस्दै पट्टाई लाग्छ मिरमिरेमै उठेर घर धन्दा थालेकी आज असाध्यै फूर्ति देखिन्छे बिचरी अस्ती मौलो हेर्न जान पनि पाइन, बरी भैलेनी खेल्न जाउँ भन्ने कति आए तर किन किन मन गरिन… गोबर र रातोमाटोले घर लिपीवरि गाग्री माझेर फूलहरू सजाई, माला उनी मखमलीको एउटा, अनि दुबोको अर्को पगरी बनाईवरी, भोलीलाई आजै बरा नवैलावोस भनी, तुलसाको मोठ भरी राखिदिई फन्के रोटी, अर्सा अर्नासा र परिकारहरू सौगात थुप्रै थुप्रै भाइटिकालाई… चिट्ठी, पाँच महिनाअघि नै आएथ्यो पल्टने भाईले यसपाला भाइटिका लाउने रे … अप-सकुनहरूले त्यति साथ दिएनन तैपनि रातभर कुकुर रोएको रोयै थियो देब्रे आँखा फुरेर उस्तै तमास थियो मझेरीमा फरिया अल्झेर गाग्री घोप्टियो ठोक्किएर बाईं फूट्यो देवल घडीको घण्टी बज्दै थियो समय नियाल्छे पम्फा हठात् यस्तो खबर आयो बम विष्फोटमा भाइ मरेछ कठैबरा… प्रतिक्षा प्रतिक्षा नै रह्यो।
कविता ५

उषा

रम्यो उषा त्यो मुसुक्क अब चिरबिराए थे चरी जब तन फुर्रफुर पारी डालीमा छर्यो सुनौलो तब लालीमा गमक्क गम्केथे पहरा छहरा टप्केर शितबिन्दु बरा लर्केर निहुरीकन भमरा मह चुस्दथे कठैबरा शंखघोष भयो मन्दिर सजियो बासनादी धूपहरू मगमगाए घण्टी बजी तथास्तु दिँदै थिए शुरूवात भो दिनको सब हर्ष पिए हलो लिएर कृषक खेतबारी गरी खुबै मेहनत अन्न उमारी सब जहान बसी मीठो गाँस पारी रम्यो उषा सबमा धरा सुन्दर पारी।
कविता ६

पर्देशी धन

झिलिक झिलिक्क गड्याङ गुडुङ झररर झर् झर् अबिरल वर्षा ठूलो साँझ परेदेखि यता चट्याङसंग आज रातभर नभ रिसाएछ आजभोलि तरास भएर निराशाका कल्पना गर्दै मझेरीमा चुहिएको पानी उठाउँदै माइलीले नियाउरी मुहारमा बिरहको सुस्केरा हाली नूनिला विवशताका आँशु समेट्दै भर्खरै ताते सर्ने सानीलाई काखमा राखी आफू बुहारी भएको तीतो कल्पना गरी छोरीको अनुहार राम्ररी चिहाई भोली दशैं टीकाको सुरम्य दिन मीठो खाने र राम्रो लाउने प्रबल इच्छा अरूका झैँ सिंगारिएर पति पत्नि हिँडने रहर समेट्नै नसक्ने बेदनाका पर्खालभित्र परदेशी पुरुषको आशारूपी आगमनमा कोल्टे फेर्दै तन्द्रावस्था ..........। आशा ए आशा कानभरी शब्द पसेर तन्द्रा छुटेपछि समाधान भरी प्रतिक्षाको ढोका उघारिन्छ तर, मिलन मात्र मिलन सुबै लुटिएछ सपना साँचेको परदेशी धन।
कविता ७

दशैं

आयो दशैं चटक्क परेर व्यथा ऋण र पसिना बोकेर हिलो झरी र खडेरी छिचोलेर अप्ठ्यारा पाखा भरी मडारिएर थाप्लो भञ्ज्याङ पारी भाका भरी बन्दोबस्तहरू तयार पारेर कतै रमाउँदैछ दशैं कतै रगत भएर बग्दैछ निर्दोष दशैं कतै मिलन भएर अंकमाल गर्दैछ दशैं कतै सुँक सुँक रूँदैछ दशैं यो प्यारो दशैं यो साइनो जोड्ने दशैं यो भातृत्वको दशैं आर्थिक अनुसार चल्न सके हामीलाई नबिगार्ने दशैं घाँटी हेरेर हाड निल्नु भने झैं गरूँ न दशैं तब ऋण लागेर बैराग नबनाउला यो दशैं माइत/ससुराली जान पर्ने दशैं चिचिमाम र नयाँ नाना लाउनु पर्ने दशैं सिसार धेरै र राम्रै बोक्नु पर्ने गह्रौं दशैं दक्षिणा नपुगे ठुस्स पर्नु पर्ने दशैं चुना रंग पचेरा गर्ने पर्ने दशैं अपच भएपनि अलिकति त खानै पर्ने दशैं कतै भुत्लै भुत्ला देखिन्छ दशैं कति सिनो भएर गनाउँदैछ दशैं भुटुवासंग स्वाट्ट पारेर आँखा झिमिक्क पार्नु पर्ने एकप्रकारको दशैं कतै भने मालश्री, शोभायात्रा र चण्डीपाठले शोभायमान छ दशैं असत्यमा सत्यको जीत भएको विजया दशैं।
कविता ८

अंकुर

जेठ लागे देखि यता अंकुराउन हरेक प्रयत्न गर्दैछु हजुरकै लागी अति तातो माटोमाथि खसें म हाँगाबाट पट्टाई लाग्दो खडेरी खपें बल्ल बल्ल एकझर पानी परेछ र जन्मिदैछु पर्यावरण बचाउन म। अल्पायुलाई दिर्घायु दिन पौधाहरूको जरा/मुन्टा पात फल फूल भएर आफै पेलिएर, पिल्सिएर, कुटिएर, पिंधिएर कठ्यांग्रिएकाहरूलाई न्यानो दिन चिसो, शितल सफा पवन चुसाउन मलाई हुर्कन दिनोस् हजुरको घर बसाउन, निदाल दलिन बसाउन चौकी र कुर्सीमाथि आराम गर्न पुस्तक कापीका पन्ना बनिन पाउँ यो दिब्य संसारमा हजुरको अमर नाम र कृति राख्न मलाई अझै बाँच्न दिनोस् महामारी रोगहरूको औषधी बन्न अनि मलाई सेवा गर्न दिनोस् हजुरको पार्थीव शरीर खरानी बनाउन।
कविता ९

शहीद बोल्छ

उत्सर्ग गरें सहास बटुलेर निस्वार्थ भावनाहरू छात्तीभरी समेटेर पेलिएँ पिसोल्टिए आँशुको घुटको पिएर म फालिए, धिक्कारिएं, रगतको भल बगाएर मृगतृष्णाहरू पनि लथालिङ्ग पारेर युद्धे युद्धको पर्खालभित्र निसासिएर फगत तक्मा सिवाय केही रहेन मुर्झाएर झुप्रो स्यार्हान आइ पुगें लामो सुस्केरा खुइय्य गरेर उमेरहरू लज्जावती झार झैं निरूत्तर बने इच्छाहरू साउने भेल भए विछ्यौनाहरू बिझाएर निन्द्रा लाग्न सकेन तर हात बडाउँदै हातहरू समातेर हिँड्ने इच्छा अझ अंकमालहरू म देखि पर भागे युग धेरै पर पुगिसकेछ तर मेरो इतिहास उत्सर्गको लेख्न बिर्सिएछ पाण्डवको गुप्तवासभन्दा सयौं गुणा बडी खुकुरीको युगदेखि परमाणुको युगसम्म गुप्तवासमा मौन ब्रत बसें कौरवको चक्रब्यूह तोड्न अभिमन्यु भई फेरी उत्सर्गको निधों गरे मेरो बिरताको अध्याय थप्न श्री अर्जुन भै कृष्ण सारथी खोजें टिस्टामा खाँडो पखाली कलमले इतिहास लेख्न लाहाको घर भत्काउनु छ किन कि आफ्नै माटोको कथा लेख्नु छ।
कविता १०

त्री काल

ए... बिहान तिमी जाँदैगर मिरमिरेसंग अंकमाल गरी चरीहरूसंग पंख उघारी झरना संगै शितल पवनको सुर ताल र लय हाली। कहालिन्दैछन् क्यार मध्यान्न एउटा कष्टमय थकाई बोकेर एकैक्षण बैशको रूखमुनि शितल ताप्न गेंवरे उखु चुस्दैछ त्यो मध्यान्न। हिजो आज र भोलि त्यस पछिको गोधूलीमा लैबरी गाउँदै साइँली र माइँली गाईको पुच्छर समाती घरतिर आज म निक्कै बिलम्ब भएछु। तिमी जाँदैगर म आउँछु ठूलो साँझ लिएर शान्तीको श्वास प्रश्वास फेर्न परिश्रमको मीठो गाँस खाइवरी निन्द्रादेबीको न्यानो काखमा पीर व्यथा र बेदनाहरू भुली चिम्लन्छु आँखा चार प्रहर मेरो प्यारो रात, संधै मलाई साथ दिन्छ।
कविता ११

पर्खाइ

पिठ्यूँ भरी पूर्व बोकेर हाम्रो बिहान संधैं धाउँछ एक मुठी ज्योति छर्दै पराग मिलन गराउन भवँराका दौतरीहरू, उस्तै व्यस्त छन् मध्यान्तरले जत्तिनै कुतिकुति लाएपनि आलस्य नआउने त्यो तर ती पसिना चुहाउँदै पश्चिम पुगेरै छाड्छन् किनकी भोली लिएर आउँन किनहो- मेरा प्रत्येक गन्तव्यहरू भने अल्मलिन्छन् अवरोध भएर छट्पटाएका सिद्धान्तहरू त्यहाँ पुग्न नपाई सुस्ताउँछन् पुग्न त अवश्य पर्थ्यो नै तर छेकिन्छन् खै के ले छेक्छ म देख्दिन ती पर्खालहरू र मेरो अघिल्तिर पहरा दिन्छ अनि लम्बिन्छन् दिनहरू तब फर्किन्छन् दीन भएर।
कविता १२

त्यो यात्री

एउटा कालो रातको यात्री भएर जोशिलो दन्किन्दो राँको लिएर नयाँ परिकल्पनाहरू विपना बनाएर सजाउँन हिइँदैछ त्यो पथिक… किनकि त्यहाँ उनका सन्तति थन्क्याउनु छ यसैले पैदल हिँड्दैछ निरन्तर विगतका सपनाहरूलाई यर्थाथ बनाउन कुटे, कोदालोहरू बोकी हलो जोतेर घर फर्किएपछि भोलीको बिहानी ल्याउन हातको तकिया लगाएर भुसुक्क निदाउनेहरूलाई उ उठाउन पुग्दैछ बन्दकी लगाएका घडेरी र बेचैन भएका अस्तित्व फेरि सफल गराउन गाउँदैछ संघर्ष र मायाका गीतहरू भीर पाखामा सुनाउँदैछ सुस्केरामय जीवनको अधुरो कल्पना अनि आकांक्षा र शहिदका इच्छाहरू पुनः जागरण गराउन प्रत्येक दिन त्यो यात्रा गर्दैछ।
कविता १३

म विद्यार्थी

जाँदैछु निरन्तर म कुनै जोशपूर्ण लामो लक्ष्य लिएर प्रत्येक अँधेरीहरूलाई दियोको प्रकाश झैँ प्रकाशमय भई जाग्न र जगाउनलाई। सुस्तछन् खहरेहरू तबसम्म जबसम्म सावन आउँदैन निरूत्तर छन् मेरा भाग्य रेखाहरू निर्दोष छन् प्रत्येक हस्त रेखाहरू किनकि म विद्यार्थी। भाग्य बनाउन श्यामपटका काला भित्ताभरी लेखिन्छन् मेटिन्छन् सेता खल्लीमट्टीका उज्याला अक्षरहरू। समेटेर यी सबै मेरा मष्तिस्क भरी हो साँच्चै हो भोलिको नयाँ संसारको नयाँ इतिहास लेख्न जाँदैछु पाठशाला म विद्यार्थी।
कविता १४

म कस्तो हुस्सु मान्छे हँ?

प्रतियोगीहरूकै संकुचित निर्णयमा फराकिला विचार बोकेर प्रतियोगी भइदिने म कस्तो हुस्सु मान्छे हँ ? त्यो मञ्चमा निस्पक्ष हेर्ने चस्माले पक्षपात हेर्थ्यो मरो बडोत्तरिको अंकहरू घटाइन्थ्यो सान्तवना र धन्यवाद नदिइ उ घोत्लन्थ्यो तर पनि म ठूलो उसैलाई ठान्थें म कस्तो हुस्सु मान्छे हैं? बिराह जन समुहबाट भित्र चिहाउँदा उत्कृष्ट उत्कृष्ट भन्दै थिए सर्दी लागेर त्यहाँ बिचाराहरू हाच्छिउँ काडदै थिए र पनि एक भलादमी बोल्दै थिए आफुलाई आदर्शको मेचमा राखेर शब्दमा ब्यंग भर्दै थिए बिच बिचमा ताली बज्दै थिए म वाल्ल परिरहे म कस्तो हुस्सु मान्छे हैं? उ सत्य निल्दै समय चपाउँदै थिए दर्शन र दार्शनिकहरू सबै गन्दै थिए फ्रान्स, जापान, जर्मन ईटाली, इंगल्याण्ड अमेरिका भारत, नेपाल बखान्दै थिए म त निधाएछु बिउँझेंदा भवन अर्ध खाली थियो मैले एक कुनाबाट सुन्दै थिएँ म कस्तो हुस्सु मान्छे हैं? पुरस्कारहरू हतारिदै थिए श्री फलानाको हातबाट इत्यादि… जुंगा हेरी भाग परेछ म त घरतिर हिडिंहाले निकै गर्मा गर्मी परेछ सुनेर चुक् चुकाउँदै थिए म कस्तो हुस्सु मान्छे हँ?
कविता १५

हो त्यही त कविता हो

भावना उगेलेर सेता पन्नाहरूमा कविता पोखिएको हुन्छ र्सिजनामा कवि पौडिएको हुन्छ विश्राम लिँदैन कलम त्यहाँसम्म टुंगिन्दैन कविता जहाँसम्म ज्वारभाटा, छाल, तरंग लहरिन्छन् जब उ घोत्लिएको हुन्छ खुवाउनलाई, चुसाउनलाई सुधा मैं मीठा मीठा भावभङ्गीहरू नयाँ संसारका सृजनाहरूलाई काव्य कृतिहरूको रस पिएर लठ्ठ मातिएका देखिन्छन् कविहरू र पनि कविता कलिलै हुन्छ। कतै बैशाखी टेकेरै भएपनि घस्रिएका हुन्छन् मष्तिकमा शहीद हुन लागेका शब्दहरू हो त्यही त कविता हो।
कविता १६

पुकार

ए भारत, हामीलाई पनि यही बस्नको निम्ति यो भूभाग नामजारी गरिदेऊन बिनाशर्त हामी तिम्रो निम्ति मरिसक्यौं अब पनि मर्न पछि पर्दैनौ हामी संधै इमानदारी पनि छौं यसकारण, यो भूभाग नामजारी गरिदेउन। आमाको काखनै न्यानो हुन्छ रे हामीलाई पनि गंगारूपी स्तनपान गर्न देउन आमाकै निम्ति बीरगति प्राप्त गर्छौं यहीं बास बस्न त देउन हामी तिम्रै सन्तान हौं निर्धक्क चित्तामा जल्न त देउन। शान दिन्छौं तिमीलाई मान दिन्छौं तिमीलाई शहीद भएर यही माटोमा चिसो निन्द्रा सुत्न त देउन जन्मिनेहरूलाई बाँच्न र मरेकाहरूलाई गाडून यो भूभाग नामजारी गरिदेउन।
कविता १७

यहाँ यस्तै भएछ

भत् भत् पोल्दै थियो फोका लचेप्रै निस्किँन्दै थिए उ बेस्सरी चिच्याउँथी डाँको छोडेर रून्थी अनि भेला भएकाहरूले भन्थे - किन? के भो र रोएकी यसरी? उ भन्थी लौन न गुहार गुहार पानी खन्याई देऊन मलाई पोल्दै छ बाँच्न कठीन भो। अचम्म ! यो के भएकी? शायद बौलाहीछ क्यार बेहोशी कुरा गर्दैछे जानपा लगाउनु पर्ला! साँच्चै कुरा के हो? तिमी राम्ररी भनन कतै समाधान पाइन्छ कि? अनि तिम्रो परिचय देऊ तिमी को हौं? प्रत्युत्तरमा उ बोल्छे.... यो संसार तातिदैछ अनि म हुँ - प्रकृति। दिन दिन बिग्रदैछ मेरो आकृति।
कविता १८

म मरेछु

मलाई त लाग्दथ्यो कि म जिउँदै छु तर म त मरिसकेछु मलाई त कसैले जीउँदो हत्या गरेछ नखोतलिएको चिहानभित्र नसजाएको चितामाथि न म देशको निम्ति शहीद भएँ न त जिन्दगीदेखि हार्ने मृत्यु भएँ तर म मरेछु यो सपना पनि होइन विपनाभित्रै मरेछु मेरा सबै अधिकारहरू खोसिएर मरेछु र त म मरेछु। अघोषित सम्बन्धबाट जन्मिएको शिशुझै मारिएछु अमूक पशुझै काटिएर मरेछु मैले मलाई खोज्दै जाँदा पो म मरेछु यसकारण म मरेछु अरू उभिएको लहरमा त म दिवंगत भएछु उफ्रिनै नसक्ने भ्यागुतोझै कुवामा मरेछु साथी खोज्दै जाँदा निस्सासिएर मरेछु आमा खोज्दै खोज्दै जाँदा मृगतृष्णा भई म त मरूभूमिमै मरेछु।
कविता १९

कर्त्तव्य

अब म यस्तो मराई पटक्कै मर्दिन मेरो जीर्ण शरीरका हाड छालाहरू च्यादिदेऊ, फ्याँकिदेऊ मुटु लगेर कहीं कतै राखिदेऊ शिर छुट्याएर गाडीदेऊ तर यस्तो मराई पटक्क मर्दिन। पूर्खाको चिहान खोतली हेर त्यहाँ मासी सडिएको छैन भोकै मर्ने लाहुरेको चितालाई सोध उसको खुकुरीमा खिया लागेको छैन शहीदहरूका पत्निहरूलाई हेर उनीहरूको मुहार हाँसेकै हुन्छ टुहुरो छोराको विचार उघारेर हेर माटोको निम्ति लड्छु भन्ने मनसाय साँचेको हुन्छ। तिमीले दिएको चेतावनी मेरो ज्ञान हो म दिन्न भन्नु तिम्रो अभिमान हो म जसरी भएपनि लिनेछु त्यही मेरो शान हो।
कविता २०

म स्वतन्त्र कैदी भएँ

म कसरी यस्तो भएँ थाहै भएन न कसुर, न बिराम न हत्या न अपराध न घर झगडा न छिमेकीमा मन मुटाउ यो निलो आकाश मुनि म कसरी यस्तो भएँ म स्वतन्त्र कैदी भएँ। म हिड्दैछु गोडामा ठिंगुरा छैन दुवै बाहु पुलकित छन् त्यहाँ हातकडी छैन शौचालय जाँदा प्रहरीहरू पछ्याउँदैनन् तर मेरो आवाज कसैले सुन्दैनन् म कसरी यस्तो भएँ र म स्वतन्त्र कैदी भएँ मैले उत्सर्ग नगरेको होइन मैले सिमाना नकुरेको होइन मैले भोक भोकै कति रात काटें मेरा छात्तीका तक्माहरूले मलाई धिक्कार्दै थिए मेरा सन्तति मलाई गलहत्याउँदै थिए म कसरी यस्तो भए म स्वतन्त्र कैदी भएँ। मैले त्रिरंगलाई आत्मासाथ गरें मैले राष्ट्रगानमा धून भरें मत दिवा स्वप्न झें मूल्यहीन भएँ मैले तिमीलाई के बिराँए? र म यसरी स्वतन्त्र कैदी भएँ के म साँच्चै स्वतन्त्र भएँ?
कविता २१

दार्जीलिङको हुस्से

के घमाइलो के सेपिलो के झरी के बतास दार्जीलिङमा यो हुस्से छँदैछ। दार्जीलिङ, घूम, जोरबंग्लो पुरानो गोर्खा धूम सबैतिर सुके, मिरिक, मानेभञ्ज्याङ टंग्लु, फालेलुङ र रिम्बिकसम्म कालेबुङको रमणीय गाउँ पाखादेखि तराईका वरिपरि खरसाङदेखि सिलगुडीहुँदै दार्जीलिङ जिल्लाको परिधिभरी यो हुस्से छँदैछ। यो हुस्सेले ठ्याम्मै सञ्चो दिएन कहिले त वाहन-वाहान ठोकिने कहिले भने हिउँदा हिँड्दै सासै रोकिने बाली सप्रिनै नसक्ने यो के दशा भयो अब त मान्छेलाई पनि लाग्ने एक प्रकारको नशा भयो।
कविता २२

हाम्रो देश मोती भएछ

कति मजाको दिन झरी टरी सक्नसाथ हाम्रो देश मोती भएछ गगनले कुक्कु गरेछ लेक र व्यासीले मिलन भरेछ हाम्रो देश मोती भएछ। पंक्षीहरूमा जोश थिएन घामको न्यानो रोश थिएन निथुक्क भुंगाहरू निहुरिरहे पुषले बेखुश बनाउन खोज्यो दुई मुट्ठी जाडो सेवन धूवाँहरू उक्लिदै थिए हाम्रो देश मोती भएछ। आँगनदेखि हिमालसम्म भूइँदेखि आकाश सम्म रूवा जस्तै फ र र उडेछ थोपा थोपामा बिलिन भएछ हेर हाम्रो देश मोती भएछ।
कविता २३

त्यो पाठ नपढाए हुन्थ्यो

दिक्क लाग्छ, झिञ्जट लाग्छ निन्द्रा लाग्छ पुराना थोत्रा बीरताका कथा पढ्दा सिंहासन आरोहण गर्यो रे अनि युद्ध लडे अरे पैंतालिस मिनटको समय यो अरू केही सिक्न पाए पो भन्ने लाग्छ विषय परिवर्तनको सांकेतिक घण्टी बजेपछि कक्षामा शिक्षक आउन लागेको देखेर बिरमाइलो लाग्छ, कुनै खोजपूर्ण विषय भए जाँगर लाग्थ्यो होला सायद यसैले इतिहासको अत्तिरिक्त समयमा म अनुपस्थित रहन्छु भर्खरै पाठशालाको अनुहार देखेका हामी बाबर र हुमायूँको कथा पढ्दा समय नष्ट भएको महसुस हुन्छ ग्रह, नक्षत्र र धरातलका प्राणी विज्ञान र र्सिजनात्मक विषयभित्र डुबेर वैज्ञानिक हुने रहर इतिहासले समय बिताईदिन्छ यसलाई तिलाञ्जली दिएर बरू अब इतिहास आफ्नै पढे हुन्थ्यो? गोर्खे सन्तानले गरेको त्याग र बलिदान इतिहासमा लेखिए हुन्थ्यो।
कविता २४

पथिक

ए पथिक… तिमी कता हिँड्यौ हैं? अनुहारमा कान्ती बोकेर घरी मुस्काउँदै घरी सुस्ताउँदै आकाशगंगा झै सरल शान्त भएर थकाइहरूलाई बलेसीमा बिसाउन फेरी बिहान ल्याउन अस्ताएको सूर्य बोकेर सागरमा टल्किएको चन्द्रमाको टीको लगाएर सागरको साडी पहिरिएर हरियालीको पोते लगाएकी क्षितिजको घुम्टो ओडेर इन्द्रेणीको सिन्दुर लगाएकी प्रकृतिसंग अंगालो हाली… ए पथिक… तिमी कहिले फर्किन्छौ हैं? बिहानीलाई साथ लिएर शितमाथी पाइला पाइला टेकी प्रकृति परीको भाइटिको लाउन।
कविता २५

अचेल उ किन रिसाउँछे?

म उसलाई हेरिरहन्थे तर उ भने झन ठुस्किन्थी नजिक पुगेर अनुहार नियाल्न मन पर्थ्यो तर धकाउँथे। निरन्तरता थियो संधैको किन खुशी थिइन उ? पतझड भएका उराठलाग्दा वनभित्र पसी उ सुटुक्क लुक्थी सुसेलेर बोलाउन नसक्ने थिएँ म। धेरै बसन्त र झरी खाईसकेकी उ मधुर थिई जिज्ञासा रह्यो कौतुहलता लाग्यो मैले क्षितिजलाई सोधें त्यहाँ प्रत्युत्तर थिएन फेरि उषालाई सोधें र जवाफ पाँए तिमीसंग मात्र कहाँ हो र? उ त मान्छे सबैसंग रिसाएकी छे किनकी पौधाहरूको निर्मम हत्या भएको छ।
कविता २६

अहो मान्छे

मान्छेको बस्तीभरि मान्छे हजुर, तपाई, म, तिनी, उनी अहो कति बुद्धिमानी मान्छे। मान्छे किनिन्छन्, मान्छे बेचिन्छन् मान्छे गुड्छन्, मान्छे उड्छन् ग्रह ग्रहमा मान्छे पुग्छन् जल, थल र नभमा मान्छे आज जताततै विकशित मान्छे। रून्छन् मान्छे हाँस्छन् मान्छे देवता दानव मान्छे मान्छे भोको, नाङ्गो, ज्ञानी, मूर्ख धर्मी, पापी हामी मान्छे। रोगी, बैध्य, अवतार मान्छे शासक, शोषित दुवै मान्छे कानुन मान्छे कैदी मान्छे रूप एउटै अनुहार भिन्नै डल्ले, लाम्चे, कालो, गोरो स्त्री पुरूष सबै मान्छे। दर्शक मान्छे, दार्शनिक मान्छे सुन्ने सुनाउने त्यै हो मान्छे तैपनि एउटा यस्तो मान्छे सबलाई वशमा राख्छ मान्छे।
कविता २७

प्रणय

कौतुहल थियो संधैं गोरेटो कुरेर बस्ने धरती र क्षितिजको प्रणय जस्तै आलिंगनमा बाँधिने। आइन् कुनै दिन उनी फक्रन्दो गुलाफ जस्तै पिरथी अट्टाई छात्तीमा दिलभर मोह भर्दै। उसको आगमन थियो जीवनको मिलन थियो बेहुला र बेहुली बनी मण्डपमा सजिने रहर थियो। धडकन दुइ आलिंगन एक नछुटिने कसम बाचा बन्देज पवित्र मिलन अर्कै संसार कल्पनाले पुग्यौं उसपार। दुवै नयाँ साइनो भित्र प्रणय बन्धन संसार बिचित्र रक्तिम सिउँदो लगन गाँठो एकदिन फेरि बिलिन भयो मलामीको लाम भित्र प्रणय रोयो शुन्यसित।
कविता २८

एउटा तीतो सत्य

हल्का निलो पोशाक लगाएकी त्यो बाला रूँदै रूँदै मेरो गाउँले परिवेशबाट हिँडीरहन्थी तिनको नाउँ जान्ने अभिप्राय थियो नै बेखुश लाग्यो र प्रश्नहरू लुप्त हुन्थे महिनाहरू नाउँ साटासाट गर्दै एकपछि अर्को आउने काम जारी थियो चैत बैशाखले मलाई कानेखुशी गरे पुलुक्क हेरेछु र आफैं शर्माए उ धैलो मैलो पहिरणमा निरूत्तर अबाटोहरू भएर कता जाँदै थिई शायद यो अवस्था मैले नै र्सिजना गरेको हुँ मलाई लाग्यो। एक दिन विचरी उ नग्न भएर भीर-पाखाहरू सोहोर्दै चारैतिर हाहाकार मच्चाउँदै दौडन्थी हामी सबै अवाक भयौं त्यसपछि ठूलो सहास लिएर मैले उसको नाम सोधें उसले चिच्याउँदै भनी तिमीहरूजस्ता चरित्रहीन आधुनिक मान्छेहरूबाट फालिएकी म हुँ सरिता।
कविता २९

शान्ति

बुझ्न, बुझाउन, विर्चान सके विश्व साझा सम्पत्ति हो सारांश एउटै हो धर्महरूलाई समानतामा राखी हेरौं ईश एक दुई लिंग एक जात संसार एक घाम पानी बतास जन्म, मृत्यु आँशु हाँसो, व्यथा एक। बाल्य, युवा, वृद्ध, भोक, प्यास, बासना गर्भ इच्छा एक हाम्रो आस्था विश्वास प्रणय ममता एक अल्लाह, येशू, भगवान, परमेश्वर एक राह अनेक ॐ शान्ती, विश्व शान्ती राष्ट्रलाई पारौं शान्ती नसोचौं हामी क्रान्ती बुद्धका मन्त्र पढौं जीवन धन्य गराऊँ।
कविता ३०

परिवर्तन

परिवर्तन चिन्तनको मान्यता मेरो सोंचाई हो जून, रातको परिवर्त्तन खोज्छ तारा गगनको म दिनको विचारहरू गति चाहन्छन् गतिहरू प्रगति प्रगतिहरू प्रस्तुति म आँफै परिवर्तन खोज्छु आकाश कहिले ओर्लन्दैन हामी त्यतै लाग्छौं पवन राग गाउँछ पातहरू नृत्य गर्छन् चराले छन्द मिलाउँछन् फूलहरू मरिमरि हाँस्छन् शिशिर जाल हान्छ शिखर तुसारो खान्छ न्याउली उराठ बनाउँछे जब कोइली कराउँछे अनि बसन्त आउँछ उमेरले मृत्यु ल्याउँछ कोही मर्छन्, कोही पलाउँछन् धरतीमा परिवर्तन आउँछ।
कविता ३१

तिमी पाठशाला जाउ

छोरी तिमी पाठशाला जाउ दाइजो दिने बुता छैन बरू तिमी पाठशाला जाउ रूप छ तिम्रो लक्ष्य छ कोक्रो हल्लाउनु त छँदैछ र त भन्दैछु तिमी पाठशाला जाउ सुनको श्रृंगार के श्रृंगार विद्याको श्रृंगार लगाऊ आमाको काखभन्दा न्यानो विद्या पढ्न जाउ कमल, छालहरूले किनारा लाग्छन् कस्तुरी बिन्दाले नाशिन्छ रे कतै रूपले तिमीलाई पनि विहान फक्रिएको गुलाब जस्तै घामै नडुबी झर्नसक्ने बनाउला होसियार र सावधान बस काँडा बन्ने प्रयास गर तर तिमी विद्वान बन छोरी तिमी पाठशाला जाउ।
कविता ३२

विवाह

नागबेली त्यो घुमाउरो बाटो जन्ती जन्तीको लस्कर लगाई तुरही, नरसिंहा ढोलक बजाई बत्तीस अक्षरको माहुर लगाई बेहुली लिन-बेहुलो आयो। गजबको एउटा सन्दुक ल्याई गहना कपडा बेहुली लाई चुरा पोते सिन्दुर सुपारी लान्छु बेहुली खुशी पारी बेहुली लिन-बेहुलो आयो। चौबन्दी फरिया दोबर ल्यायो सुन चाँदीको गहना ल्यायो आज हरायो कल्ली लाछा तैपनि छोडदिन आफ्नो बाचा लोकन्ते आउ ओडाऊ छाता बेहुली लिन-बेहुलो आयो। सिन्दुर परेपछि पाउ छुन्छिन् पराइघर जान बेहुली रून्छिन् दुई चार दिन त प्यारै गर्छन् पुरानो भएपछि आँखा तर्छन् बेहुली लिन-बेहुलो आयो। मन तुलबुल भो अलपत्र पर्छन वर्ष नपुगी पालीमा सर्छन् चुलो जलाउने पालो आयो खर्च माग्न ससुराली धायो दुःख परेपछि माइत जान्छे बेहुली लिन-बेहुलो आयो।
कविता ३३

अधिकार

सेलाएका चुल्हाहरू जल्न सक्नुपर्छ आत्तिएका भावनाहरू समेटिनु पर्छ शिशुले शान्तीसंग दूध चुस्न पाउनुपर्छ भिखारीले भिख नमागि बाँच्न सक्नुपर्छ रोगीले औषधी र निरोगीले रोटी पाउनुपर्छ नून खाएर गुण गाउँदा श्यावाश पाउनुपर्छ विद्वानले विद्याको संगीतकारले गानको सिपाहीले कामको कृषकले उब्जनीको लेख्नेले लेखाईको भोकोले गाँसको नांगोले कपासको नागरिकले संविधानको जनताले देशको गुण गाउनुपर्छ राष्ट्रले शानको मान पाउनुपर्छ।
कविता ३४

अहो कोइली

ए चरी तँ कसकी परी? किन रूँदैछेस रातभरी? के बस्ने घर छैन? किन एकोहोरिएकी? को कहाँ छ र बोलाएकी कि निन्द्रा परेन तँलाई एक प्रहर सुते हुन्न? त्यो सिरेटोले तँलाई छुन्न? कि ऋतुराजलाई प्रेम गरिस न सुटुक्क भाग्यो ऊ र तँ अलपत्र परिस न ढाँट् है कतै बिछोड त भएन? तेरो प्रेमालाप सुन्नेहरू बिरलै होलान रूप नभएकी काली सुरिलो कण्ठ वाली बसन्तकी प्यारी रातकी रानी शायद सुनाउँदैछेस प्रेम कहानी जूनकिरीको शिरबन्दी रातको साडी पहिरिएर पोल्टोभरीका गीतहरू एक्लै गाउँदैछेस् कुन राग हो त्यो बनभरी कानेखुशी गरिदेन ए बनकी चरी…।
कविता ३५

पैसा

तिमीले गर्नुसम्म गर्यौ कसैलाई पासो लगायौ कतिलाई विष पियायौ महलमा डरपोकहरू लुकायौ तकियामा बन्दुक राख्ने बनायौ कसैलाई विमान चडायौ कसैलाई कंगाल बनायौ तिमी नभई नहुने प्रशस्तै भए त्रास हुने तिम्रो अनुपस्थितिको महसुस हुने राजालाई पनि माग्ने गरायौ आपस्तमा झगडा लगाई ठूला-ठूला बारूद गनायौ तेरो मेरो सानो ठूलो पति-पत्निमा मुद्धा लगायौ शान मान दियौं दिन त तर बुझ्नै नसक्ने वकालती चलायौ साधु, जोगी, फकिर, सन्यासी श्रद्धालुलाई तीर्थ पुर्यायौ तिमीले लिडेढिपी चलाई नतोकिएको मूल्य उठायौ यात्रीहरूलाई लुट्न पठायौ मुंगा, मोति, सुन, चाँदी चाहे जति किन्नेको आँटी पण्डित, लामा, झाँक्री, बाजे तिमीले गर्दा गाजेमाजे तिमीले जनतामात्र होइन राष्ट्रलाई पनि ऋणी तुल्यायौ।
कविता ३६

रक्सी

ए रक्सी तँ कति पाने? एक कि तीन? म दुई नखाने पाए एक नत्र तीन किन कि दुई मत भिन्नता कि तँ मलाई खा कि म तँलाई तँ तीन बाचा तीन पार्ने एक तँ दुई र म तीन शान्ती तीन बाल्यकाल निन्द्रा र मृत्यु कारण तीन देश कानून र जनता बिवेक तीन पुस्तक गुरू र म लोक तीन स्वर्ग, मर्त्य, पाताल लौ भन तैले मलाई लान्छस् कहाँ? स्वर्ग? त्यसो भए म जान्न किनकि तलाई खानेहरू मलाई सुहाउँदैनन् मर्त्य? हो म त्यहीं छु जहाँ सबै मर्छन रह्यो पाताल विष्णुले बलिलाई जस्तै तैले पाताल लाँदैनस् तेरो आर्शिवाद दिगो छैन पिउन्जेल मज्जा राजाको हात्ती किन्छस् र दिँदैछु बिदा तेरो बानी छैन ठीक लौ तैंले जति गर्नु गरिस् मज्जा अब मेरो परिवेशबाट अन्त कतै जा...।
कविता ३७

याद

शहनाईको स्वरसंगै घुम्टो भित्रपनि सूर्य उदाएथ्यो उषाको त्यो लालीमा छरिएथ्यो विवश ती दिनहरू आज कठै दीप निभ्यो तुसारोले त्यो पालुवा फुल्नै नपाई कक्रियो। कल्पना नै कहाँ थियो र न त सपना नै थियो अहो! त्यो कस्तो तुफान नफक्रन्दै चुडालेछ कोपिला कुनै एक विहान। पड्क्यो ज्वालामुखी चर्यो पहाड छल्क्यो सागर सारा भयो विश्व उजाड सुक्यो पुष्प बाटिका अब आउँछ के बहार मात्र आउँदैछ हाम्रो त्यो प्रेम पलको याद।
कविता ३८

तप्प

टिलपिल टिलपिल अश्रु बिन्दु मुटुका स्पन्दनदेखि मष्तिस्कसम्मका पीर नयनका मझेरीबाट परेलीका बलेसीमा किन चुहिन्छन् उमंग आशा भरोसाहरू फेरि रमाउँछन् किन सबै अस्थायी आशाहरू लाम लागेर जीन्दगी कुर्छन् निराशिन्छन् पनि दर्शनको खाँचो देखिन्छ नत्र इमान्दारीता आदर्श क्षितिज हुन सक्छ अपूर्ण वाक्य बिराम प्रश्न चिन्ह जताततै मदको प्याला रित्याउला कतै उदाङ्गो पारिदेला भविष्यहरू छियाछिया परेको छात्तीभित्र समाज न अटाउला बिचारमा आगोलाग्दा ओश बाफिएर भावनाको चित्कार आँखाको द्वारबाट पाखै पाखो तप्प झर्ला…।
कविता ३९

प्रलय

कता खोज्दै छौ त्यो तिम्रै खल्तीमा छ कहाँ हेर्दै छौ सुदुर पारी त्यो तिमी भित्रै कैद छ न औंल्याए हुन्छ गन्ती नगरे हुन्छ दिन निर्माण भत्किएर निर्वाण लिएर त्यतै धाउँदैछ क्रमश… भावीले लेखेको भाग्य भनिदिएको भाग्यमानी दान पाएका कर्त्तव्यहरू तथास्तु शब्द त्यो सुस्तरी गोमन भएर घन्निन्दैछ रोमरोममा डराउँदैछौ देखी देखी शुन्य तोडेर शुन्यसम्मको यात्रा एक्लै हिँडने पथिक उमेर गएको छैन बरू तिमी उमेर खाएर चाउरिएछौ ढोल पिटीदेऊ शहरमा सुन्नेले जे भन्लान नसुन्ने ढुक्कै पर्लान अनि भन्नेछन् प्रलय...।
कविता ४०

दार्जीलिङ

त्यो सेतो हिमालयको गोदमा डम्म बसेको कञ्चनजंगाको फेदमा तल कस्तुरी चर्छन् झरनाले संगीत भर्छन् त्यै हो दार्जीलिङ। कोइली रूखमा उसै टोलाउँछे सुनाखरी ती समीरमा लोलाउँछन् त्यो सानो खहरे दौडन्छ छिट्टो बंशी फूकेर मग्न छ पहाडी ठिटो त्यै हो दार्जीलिङ। भमरा मौरी गुनगुनाउने भाष्कर पनि त्यो शोभा छर्ने लता लहरिन्दै फूल्दछ जानी गौंथली गर्दछन् चिरीबिरी च्यार्र आयो वर्षा झरर इयार्र त्यै हो दार्जीलिङ। दुःखमा पनि हाँस्छिन् रानी माया सबलाई गर्ने बानी मेरो छात्तीमा ओखती फुल्छन् यिनीहरू मेरै मौन लता हुन् नातिशितोष्ण म छु आउ शान्त समीरको पगरी लाउ त्यै हो दार्जीलिङ। ऋतुहरूका माला लगाई छमछम नाँच्छिन् चाँदनी आई सेतो बादल फेरो लाई गर्छन् माया पाहुनालाई त्यै हो दार्जीलिङ। हरिया चियाका मुना टिपिन्छन् महाकाल बाबा तथास्तु दिन्छन् जहाँ ठगिएका गोर्खा बस्छन् पर्यटकका धुइरो लाग्छन् त्यै हो दार्जीलिङ।
कविता ४१

आयो कालो जून

रूँदै आएँ यो धरामा आँशु नयन भिजेन फेर्दै कोल्टे अनि पल्टिँदै बल्ल ताते सरें म थिएन लज्जा न डाह इर्ष्या म्वाई स्नेह पाएँ मस्त निदाँए तेल घसेर भन्थे आमा सबले तेसै भन्न सिके अनि पो साइनो एउटा पाएँ आच्ची छिः छिः, आत्था, बुङ राम्रै रक्षक भेटें बरालिएछु बयले भेट्यो छेक्यो जीर्ण बाटो अक्षर ब्रह्म साऊँ चिनायो गुरू ब्रह्म जाने आत्तिएछु उमेर मदिराले जीवन संगिनीको संग पाएँ आँशु हाँसो मिश्रितक्षणको खुब मोजले बिताएँ तरूण वयको तरूणी लयमा एउटा निन्द्रा झुलेछु छैन थाहा कुरूप भएछु शिरमा कुइरो उठेछ तन्द्रा हो या निन्द्रा हो त्यो झल्याक झुलुक कता कता पो यम देखा परेछ जीवन भरका काम कर्मका हिसाब खाता माग्यो हिँड अब त छैन समय वर्ष सत्तरी नाघ्यो जडी बुट्टीका दुई चार थोपा निल्न खटपट परेछ अडकिएछन् रूग्न कण्ठमा औषधीका थोपा कण्ठ ठप्प भो रून्छिन् सहॅली भन्न सक्तिन केही एक अपशकुन लम्की वर वर आयो कालो जून मृत्युलाई छेक्न सक्ने सृष्टिमा होला कुन?
कविता ४२

सुकिजाने सरिता

तिमी छद्म भेषमा कहाँ थियौ र खस्दैछौ? निडर भइछौ भिरबाट हामफाल्न सीताझें धरती प्रवेश गर्न तिमी सुटुक्क भागिछौ सूर्यले गिज्याउँछ भनेर पाताल गइछौ हेर न तिमी निस्प्राण भइदिँदा ती तरूण तरूणीहरू आलिङ्गनमा बिभोर बाचा र कसम खाँदा खाँदै शितल ताप्न पुग्दा निराश भएछन् अतिथीहरू सावनसंग विवाह गर्न यस्तरी माइतघर छोडनु उपहास होला श्रृंगारिएर तिमी आउन्जेल कसले पर्खेलान अनगन्ति जुनकिरी देवसी खेल्न तिम्रो पिढींभरी बसेछन् भैलेनी खेल्छन् रानीचरीहरू भूर्भूराउँदै यता उता तर खुशी देखिन मैले निराश पखालेर पोखिन्दै थियौ तिमी बोलाउदिनपनि म तिमीलाई फत्तुर हाल्छौ भनेर पागल प्रेमी भयौ त्यहाँ ओखतीका बिरूवा लगाउन सिचाँई चाहिएकै छ। सरिता तिमी आउ।
कविता ४३

चाहना

ठेला उठेका हातमा फुटेको पाइतालामा जुवा भिरेको काँध त्यो गोरू र राँगाको देखेर चुकचुकाउँछ ईश्वर पसिनाको हरेक थोपा थोपा अन्न बनेको हुन्छ सुखीको संज्ञा लिनेहरूलाई खेतालो पेट भराउँछ घण्टौं जपेर मन्त्र देश कहाँ हरियाली बन्छ फिराएर माला बसिदिँदा अबेर भो धेर मन्दिर छ मन स्थिर छैन ईश्वर कहाँ रमाउँछ र? मूर्ती छ, उ चूप छ न बोल्छ, न हाँस्छ ठगेर हेर त राष्ट्र ठगिन्छ परिश्रम गरी हेर त अ-सहायको पेट भरिन्छ सासै राख्न माग्नेहरूलाई लगनशिल बनाऊ आफू लागिपरेर कर्मको उदाहरण बनाऊ मेहनतीलाई गुरू चाहिन्न एकलब्यले सिकायो बगाएर पसिना बाँच्न सिकाऊ उठाऊ गाउँ-गाउँ उठाऊ समाज र देश मान्छे भएर मान्छे ठग्छौ कसले दियो त्यो अधिकार माँग्न नजाउ पल्लो मुलुक गर्ब गरौं न अपार जोगाई अन्नका हरेक दाना एक गजबको भण्डार बनाऊ बचाई एक एक नयाँ पैसा राष्ट्रलाई शिखर पुर्याऊ मिलौं भाई-भाई हामी मिलाऊ दिदी-बहिनी र आमा फलौं फुलौं रमाँऊ हामी सुगन्ध छ जहाँ त्यहाँ ईश आवोस् रगत एउटै माया एउटै अब बारूद नगनावोस्।
कविता ४४

फूल

राखी देउ, लगेर शवमा न गन्ध न बासना चाल पाउँछ न त धन्यवाद छ भन्न सक्छ थमाउ प्रियसीको मुलायम हातमा झिनो मुस्कानसंगै अपार प्रेम सजेको हुन्छ चडाऊ कुनै मन्दिरमा त्यो आर्शिवाद बनेको हुन्छ भिराउ उनेर माला कसैलाई त्यो गलामा सुहाएको हुन्छ सजावोस चुल्ठो कुनै सुन्दरी उसै शायद अभिमान फुलेको हुन्छ फुल्छन् नित्य बासना सुन्दरता दिई खै के को रहर हो क्षणै मात्र बाँच्छन् भन्छन् यसरी नचुडाए हुन्थ्यो चुडाउँछौ त चुडाऊ त्यो फूल अनि पहिराई देऊ माला उनि जो जाँदैछ बचाउन राष्ट्र धपाउन बैरी स्वयं जान्छ स्वर्गमा मरी नटिपौ फुलोस्, झूलोस बागमा पवनसंगै खपोस खप्नसम्म घाम रूझोस झरीमा पनि बाँडोस पराग भएजति सबै वैलावस लत्रोस बरू त्यहीँ त्यो खुशाएको हुन्छ। आफ्नै जगहमा त्यो सुहाएको हुन्छ।
कविता ४५

काल

क्षण क्षण पल पल गर्दै मेरो वय सकिन आँट्यो इच्छा मनको पारी अधुरो धागो चुडिन आँट्यो तैपनि मैले भन्नु मेरो स्वार्थ मजाको छ क्या टुङ्गिन लाग्यो जिन्दगी तेरो देख्छस् बाबुको ब्याहा काल भनेको समय रहेछ कति बित्यो अब कति छ पण्डित ज्ञानी सन्त फकिरले दिन्छन् मीठो अर्ती बिते पुराना आयो नौलो झिल्के मिल्के नक्कल छोडदिन गर्न लिडे ढिपी म त आँफै आफ्नो महर्षी प्रेमको ब्यथा जाती नहुने मेरो पुरानो घाउ यसले गर्दा तार्न नसक्ने भेटें डुब्ने नाव धेरै कुछ अलि पछि हेर्छ बाहिर कालो अँधेर छ कसलाई लाने कसलाई नलाने छामी बिचार गर्छ लोभको भाँडो कहिले नभर्ने न धनको डकार आउँछ इच्छा त्यही हो बगिरहने मनको तिर्खा धाउँछ मलामी अघिका लाश भएछन् अबको पालो कसको? युवती सुन्दरी बिछट्ट राम्री युवक पनि छ उस्तै सोच्दछन् मनका लड्डु थुपारी रहोस् जीवन दुरूस्तै रोग बन्दुक उठाई हान्यो रीसले विष पिई घमण्डीले पासो लायो उमेर हेरी भन्दछ काल व्यर्थे जीवन गुमायो।
कविता ४६

प्रकृति प्रेम

हौ लालगेडी आँखाकी तिमी बिझाउदिनौं मनभित्र पनि बिहान आउँदा सुन बोकेर आउँछ्यौ मध्ये दिनमा खित्का छोडेर हाँस्छ्यौ गोधूलीमा पवन फेर्दै रूप केही बदलिन्छ्यौ साँझ पर्यो र भेक कराए सोहू सत्रकी तरूणी भइछ्यौ लोभै लाग्दी मोहिनी खुब राम्री देखी प्रभातलाई उसै धकायौ हे रूपवाली मोहनी लगायौ तन बुडो भो मन भएन आफ्नै पार्न धन भएन केश लामो त्यो सर्प सरिको तिमी शशीकी अप्सरा पो? सिताराको गगनले शिरबन्दी सुहायो यै हो तिम्रो लगन जुटेको नसम्झ कहिले स्नेह टुटेको न रिस राग द्वेश तिम्रो संधै मुसुक्क अधर हाँसेको मैले कस्तो प्रेम गर्नुछ आज कस्तो भाषा शैली भर्नुछ लाग्छ लाज कस्तो राग गाउँछ्यौ गान कहिले बेसुरा भो सरगम मेरो यसैले न्याउली कोइली धोबिनी आउन गाउ बेला बित्ला सुर राम्रो लगाऊ।
कविता ४७

पागल

सडकको त्यो भित्ता र छेउ उ हिँड्छ तर्साउदैनन् उसलाई तर्साउनेहरू बुझ्दैनन् उसको भाषा टाउको नभएका मुर्कुट्टाहरू रात रात मात्ने गर्छन् ढाड नभएका चुडेलहरू पाइखानाहरूमा आम सभा डाक्छन् भालेका "कुखुरी काँ" प्रहरहरू संग बित्ने गर्छन् परेवाका धुराईहरू समय नबुझी फेरी घुर्छन् स्यालका रोदन रातका पलसंगै हराउँछन्/बिलाउँछन् बिचरा ! निदाउँदैन दिन रात र समयका दिक्दारी उसमा आगो सल्किएको हुन्छ ठ्याम्मै नदेखिने परिवर्तनले अहिल्या जस्तै पत्थर भएछ हाँस्छ मुसुमुस् गल्लीहरूमा ओत लाग्छ पक्रन्छन् प्रहरीहरू शहर सफा राख्न थन्क्याउँछन् कहीं त्यो जीन्दगी विकशित भएका छन् आजकल मान्छे र चिन्दैनन् कसैलाई सोहोर्दैछन् मेहतरहरू सभ्यहरूका फोहोर यस्तै छ मेरो परिवेश छि : प्रतियोगिता यसैले फालिएछु भन्छ त्यो कहाँ हो पागल।
कविता ४८

सारंगीको तार

कम्पित भएर मुष्ठ तारहरू रेटिदैछन् मूल्य नपाएको सस्तो बजारको सौदाजस्तो किनिएर फर्काइन्छन् या फाउ मागिन्छन् सित्येंमा हिजो आजको कोलाहलमय शहरभित्र म जस्ता धेरै मान्छेहरू गाइनेका गिती भावना तथ्य फडकाल्न त्यही सारंगीको खोक्रो पेटबाट भावपूर्ण शब्द गीत भएर भास्सिएका कण्ठदेखि अर्थपूर्ण बिष्फोटभई निक्लिएर पनि मात्र खुद्रा फ्याकिन्छन् अघिल्तिर बस्… गायनका दर्शन तृषित र भोका होलान शायद रूझेका छन् अवशय पुराना भनिएका सत्य अभिव्यक्ति र पनि मरेका छैनन् जाँगरहरू निम्तो नपाएका असम्मानित बिचारहरू आफै समेटिन्दैछन् त्यो रातको छात्ती चिर्न अनि हेर्न त्यो आफ्नै आँगनमा उदाएको सूर्य उठुन् बरू एकाएक चिहानबाट इरादा नपुगेका हाम्रा मान्छेहरू हिँडेर मिलेर लामो ताँती पल्टाई दिऊँ अधिकार लेखिएका संविधानका पन्नाहरू जबकी जन्मिनेहरूलाई सुनावोस बीरताका कथा त्यो सारंगीको तार...
कविता ४९

मन र म

पहिलो पल्ट… यो मन र म वाम र मन मैले मनलाई सोधिन सोध्ने खाँचो परेन तर जबरजस्ती मेरो ढिपीलाई मनले स्वीकारेन यो मनोद्वन्दभित्र म पो फसाद परें दोस्रो पल्ट… मनले मलाई इच्छा जाहेर गर्यो मैले पनि रूचाएछु र - मन खुशी भएर मलाई आज्ञा माग्यो मैले ल भने तेस्रो पल्ट… फेरि कोनी के भो मैले मनलाई रोकें अनि मन रोयो अचम्म यो छ म रुँदा जहाँबाट आँशु आउँथ्यो मन रूँदा पनि त्यहिबाट आँशु झर्यो अनि मैले सोचें त्यसोभए मन र म मा द्वन्द किन? चौथो पल्ट… मलाई मनमनै मन परेन र गरूँ कि नगँरू भनी मनमनै सोचें यसरी सोधी रहँदा प्रत्युत्तर नआएर बिचरा मन दोमन भयो पाँचौ पल्ट… त्यसो भए ठीकै छ भनेर मैले पनि मनमनै मन मारे र बल्ल मन बुझाँए छैटौं पल्ट… उमेरमै मन गरेको भए केही गरिन्थ्यो त्यो बेला मन गरिएन र अहिले पो मनको लड्डु घिऊसंग खाँए सातौं पल्ट… तरै पनि एक दिन मेरो मन दुख्यो अनि मन जाति पार्न बैद्य कहाँ लगियो बैद्यले अहिले यसको उपचार गर्ने मेरो मन छैन भन्यो र मैले मन बुझाँए। आठौं पल्ट… यो दुःखेको मनलाई कुन्नीके भो चञ्चल भएर तुलबुल भयो औ मन बरालिएला भनेर मैले मनबाँधे तर छट्पट् मर्न नपाएर होला मेरो मन पोल्यो। नवीं पल्ट… यो मनको औषधि कसैले पनि तयार नपारेको हुँदा मन बिरक्त भो।
कविता ५०

यहाँ एउटा दीप जलोस्

जसरीसुकै जलोस् जली रहोस् चाहे लरबरिदै हुरिदै धिप धिपाउँदै जलोस् तेल सकिदैन किनकि यहाँको माटो उर्बरा छ सलेदो सकिदैन ता कि यहाँ कपास उम्रन्छ। अन्धकारहरू छिचोल्दै गाढा औसीको रात हटाउँदै संधै पूर्णिमा झैँ चन्द्र फूलोस् यो देश विश्वमा नै यस्तो बनोस् जबकि कसैको अपराधिक दृष्टि परे ठहरै मरोस्। श्री सूर्य जले झै जलोस् आँधी तुफानले ननिभावोस् देशबाशीको हितमा मानव आत्माको मन मन्दिरमा। देशको सीमा-सीमामा राष्ट्रको इमान्दार झण्डामा दीवाकर झैँ प्रकाश भरोस् यो जन्मभूमी गौरववान्तित बनाउन यहाँ एउटा दीप जलोस्।
कविता ५१

अब

अब खान्न म कसम गर्दिन ताँबो तुलसी उभिन्न हरियो गोबरमाथि दीयो बालेर छुन्न गीता, चण्डी र वेद फुकाइनु पर्छ बन्दीछन् आवाजहरू तरंग भएर शब्दहरू प्रत्युत्तर खोज्दैछन् चौपट्ट उर्लिएकाछन् व्यथाहरू उगेल्दैछु अप्रस्फुटित शब्दहरू घाँटीसम्म नफडकालिएका तोते बोलीहरू कसमको कठगाराभित्र उभिएर अनिच्छुक वकालती चाहन्न आँखाका नानीभित्र सूचनापट पढ्दैछन् समाज देख्ने पढन्तेहरू त्यसको मूल्य र मान्यता पिर्छ रे झूटो कसमले सन्तान बोकेर काखभरी यसैले मरेपछि तर्पण पिण्ड दिने सन्तानको रक्षार्थ सीमाना कुर्दा पतिले बिधवा भएकी छु म आमा हूँ मेरो कर्म घर यहिँ हो पाएको दाइजो खोसिएछ भालेको प्रहरअघि पुछिएछन लगनको सिन्दुर सेतो पहिरन पहिरिएर आमा भएकी छु म कुरूप सुन्दरी बागदान दिएको छैन छिनो फानो गरिदिए हुन्थ्यो।
कविता ५२

बिगत र वर्तमान

म आउँदा ती लताहरू उम्रन्दै थिए फक्रन्दै थिए फूलका गुच्छाहरू सुसुप्त थिए मेरा निमुखा लक्ष्यहरू शीतल थिए मरूध्यानका वाष्पहरू लम्किन्दै थिए विज्ञानका आधुनिक पाइलाहरू चम्किन्दै थिए नयाँ आकाशमा विज्ञानका थानहरू सारा मेरा पथ खुलस्त थिए मेरो उमेरभरी मलाई पछ्याउथे किन? अघिल्तिर घरि पछिल्तिर मलाई कुत्कुत्याउँदै हरेक बिहान हतारिन्दै साँझ बोक्न पश्चिम लाग्थे चिट् चिट् पसिना बोकेर निधार भरि सुस्केरा लिएका हुन्थे भाग्यमा भर पर्नेहरू प्रतियोगीता भरि प्रतियोगी म एउटा संसार खोज्न किन दौडिन्थे कोनि? स्यावासहरू कति आए कति उसरी धिक्कारपनि आए कति उमेरहरू सिर्जना खोज्दै थिए अनि फुलिरहन्थे यस्ता कति उमेर म देख्थे तुवालो उठेर ढाक्थ्यो कहिं आँधी भएर बतासिन्थ्यो अनि सावन मैं वर्षिन्थ्यो जिन्दगी धूलो भएर मडारिन्थ्यो चिन्तन नाँध्दै थिए पर्खाल आगामी अंकहरू एक दुई तीन क्रमश… भन्नेहरू भन्नेगर्थे मैले यति उति गरे नजानिदो चाउरिन्दै थिए प्रत्येक पुष्ट अनुहारहरू जीवन सलेदो जल्दै थियो तेलसरी खोई कता हराएछ बिगत भएछ भरिएका थिए गह माया उनेर गलाभरि... तर उदाई रहनु नयाँ नक्षत्रहरू...।
कविता ५३

भावनाका तरंगहरू

अस्पष्ट लाग्दो लामो रात कोल्टे फेर्दै डसनामाथि भुवा ओडेर न्यानो निन्द्रा गाउँ खानेकथाहरूको सुनाई प्राचीन भएर होला सूर्य खसेपछि आँगनमा खुलेका आँखाले विश्व हेर्दा गुफाका चरित्र पो दोहोरिएला कि कतै लाग्छ अर्कै कुनै भूमण्डलमा वास बसिन्छ लाग्छ स्वर्ग जानेहरू त्यही छन् बुर्जुग, बुद्धिमानी, विद्वानहरूको सभा छ अहँ यो शरीर छोडी जाँदा शरीरको निर्माण गर्ने कुनै दम्पत्ति त्यहाँ होलान? मरेपछि प्राण हावाभित्र घुसेको त हुन्न कसले चिन्ला मलाई फलानो भनेर बरू पुगुन विज्ञानका पण्डितहरू बसाउन दलिन अन्तरिक्षमा लैजाउन प्रहरी बनाएर हामीलाई राजा बनून तिनीहरू हम्कुँला चमर यदि छ भने यहाँ भन्दा असल माइत जालिन श्रीमती ताराहरूको देशमा ससुराल जाउँला म मामला जालान सन्तानहरू शायद ईश्वरको देश त्यतै होला हेरुँला आँखाले स्वर्गीक आनन्दहरू पुगुन कठैबरी ती! घाम जाने बाटोभरी लाम लाग्ने जीन्दगीहरू नत्र बनाउन बैध्यहरू जडी बुट्टी न रोग न शोक नमरून बाँच्नेहरू कोहिपनि नथपिउन अरू मायाका साइनोहरू।
कविता ५४

मैले कविता पाँए

म कविता खोज्न मष्तिकको विमानमा चडी चिल जस्तै उडीरहें दिन महिना वर्षभरी उडे तर कविता यसरी पाँए उसित रम्ने इच्छा थियो ओझेल परेर छद्म भेषमा धरणीभरि प्राकृतिक छटाहरूमा रमणीय आनन्दभित्र साहित्यका वाङ्मय अवतारमा उन्मत्त भई गुनगुनाई रहेको पाँए। देवराली पाखाका नागबेली गोरेटो चौतारी, रिमझिम वर्षाको मधुर गान गाउँदै सुनौलो क्षितिजमा सुसेली रहेको देखें घरि बासनामा फूलका खहरेका सुसाई माया छुटेका प्रेमिकाका रोदन अनि लाशमाथि बिछ्याइएका फूलमाथि पाँए मृतकका शान्त अनुहारको आनन्द र शिशुको हस्तरेखाभरि पाँए जाडो याममा दिवाकरको न्यानो आगमन र पाइला, पाइला पछ्याउने छाँया एवं चारोको पर्खाइमा माऊ कुर्ने बचेराको आशयमा पाँए। गंगाको तटमा माला गनी मृत्यु कुनै बेसाहारा जीवनसाथै शीत बनी टल्किदिने थोपाहरू एवं दौरा र चौबन्दीका तुना औ चिया टिप्ने आमाका सुस्केरामा पाँए। ओझेल परेका दर्शनका ठेली अन्माएकी बेहुलीको माया अनि युद्ध जिती फर्किने सिपाहीको खुशीभित्र पाँए। तकियाको सपनामा कल्पित आँशु बनेर मायाका चैत्र वैशाखको लाली गुराँस चरीको काफल पाक्यो संगै गुलाबको उमेरभरी पाँए। न्याउलको उराठसंग सयपत्री मखमली मादलको घिन्ताङ्ग लिङ्गे पिङको लचक जमरा र टीका भैलेनीको गानमा भाइटिकाको मिलन साथै तामङ्ग सेलो र धान नाँच एवं हाम्रो संस्कृतिभरि पाँए। मैले कविता, बिधुवाको सिउँदो चाउरिएका अनुहार थुनिएका कैदी मूर्ति अघि बर्दान माग्ने प्रेमीहरूको विश्वास र बलिको पशु अनि बल्छिमा उनिएका माछाको जीवनमा पाँए। अनि कविता जलाशयको कमल पत्र र लाशमाथि खन्याइने माटोको मूल्यमा पाँए एवं कविता आमाको न्यानो काख र मायाका चुम्बनमा पाँए।
कविता ५५

त्यो ध्वनि

धुम्म आकाशको ओतभित्र बाछिटा खस्नु अघि नाच्दै थिए पहेंलापातहरू झर्नलाई हाँगाबाट अनि आकस्मिक झिल्काहरू पृथ्वीका सतहमा विद्रोह गर्न हठात् झर्यो शब्द थुनिएछन् कानहरू कम्पित थिए नसाहरू चुपचाप थियो पवन मृत्य सकेर मञ्चको पर्दाभित्र मेरो धडकन भित्र त्यो दिन अनन्तमा प्रतिध्वनि र ओत लाग्दै थिए परिश्रमीहरू निध्रुक्क भिजेर गलहत्याइएका निमुखाहरू तर बरदान थियो त्यो ध्वनि।
कविता ५६

रेली

त्यो सुरम्यता र एकाग्रतामा तिमी कालेबुङकी रेली पहाडीभेकको चिसो पवन अंगालेर निरन्तर तिम्रो गन्तव्य लाग्छ मलाई शायद तिमी प्रकृतिको एक बरदान हौ शायद तिमी प्रकृतिको एक पुष्पहार हौ सरिता बनेर लोभ्याउछ्यौ तिमीले नव आलिङ्गनमा बाँधिनेहरूलाई अति लोभनीय भएर पगाल्छ्यौ मलाई पनि तिमीले त्यो निर्जनताभित्र एक्लै सुसेल्दै हिँड्दैछ्यौ तिमी पर्खिन्दैनौ र कहिले निष्ठुरी लाग्छ तिमीलाई र तिम्रो साथ छोडून मन लाग्छ फेरि बिर्सन पनि सक्तिन किन ! किन !! रेली तिमीलाई।