शोषितका शब्दहरू
उज्यालो खोज्दै — मुक्तिनाथ शर्मा 'शोषित'
मुक्तक सङ्ग्रह · पाँचौँ कृति · २०२५

उज्यालो खोज्दै

UJYALO KHOJDAI — ५२ मुक्तकहरू · भूमिका: कमल भट्टराई · ISBN 978-93-342-1843-5

समर्पण
समयको हुरीले हामीबाट पर.... अनन्तको ईश्वरसमक्ष जानुहुने प्रिय कवि कैलाश पाण्डेलाई।
मुक्तक १
एउटा तस्बिर खिचिराखौँ कतै भित्तामा मन टाँसिन्छ भने राखिदेऊ यादहरूमा ढुकढुकीभित्र आँटिन्छ भने खाली छ आऊ बस मनको सानो ठाउँ छ आँखाभित्रै छल्काएर आँसु साँचिन्छ भने।
मुक्तक २
अमूल ताजा कहिल्यै बासी हुन्छ र उमेर आएपछि नहाँसी हुन्छ र समय हावासरि चलिरहन्छ सज्जनलाई पनि फाँसी हुन्छ र!
मुक्तक ३
मेरो माया उसको मुटुमा लागिदिए पो हुन्थ्यो इसाराले बोलाएको सुनिदिए पो हुन्थ्यो म त ऊभन्दा मरिमेट्दैछु कि क्या हो उसले पनि मप्रति गुनगुनाए पो हुन्थ्यो।
मुक्तक ४
कति छन् तिम्रा वेदनाका आँसु पोखिदेऊ मलाई कति अँगालिन खोजिरहेछु म सँगालिदेऊ मलाई हृदयको बारूदमा मिलनको सलाई कोरेर मरेँ म लम्पसार तिम्रो काखमा, जलाऊ मलाई।
मुक्तक ५
फुलेछ रातो गुलाफ रङ्ग भरेर आँतमा प्रेम छ अधरमा, सम्झना धड्कनमा न छ जातमा समाऊँ लाग्छ कोपिला काँडाले कोरे पनि भेट्नलाई तिमी भाग्य चाहिन्छ कि माथमा।
मुक्तक ६
समाऊँ लाग्छ माया भागिजान्छ पिलिक्कै कति चिप्लो छ यो उफ्रिन्छ मिलिक्कै दोधारैमा जीवन सजाएँ नि मैले चाउरी परेको अनुहार हेर्छ फिलिक्कै।
मुक्तक ७
अब खुल्दैछ आकाशको छाती झलमल्ल देखिन्छन् ताराहरू राति बिहानजस्तो कहिले हुन्छ र दिउँसो बाँचिरहे देखिन्छ नानाभाँती।
मुक्तक ८
रोप दिलको खेत लहलह धान झुल्छ भने समेट अन्तरमा कतै बिछोडमा मन डुल्छ भने सलाम छ, राखिरहन्छु चिनो सम्झेर उपहारहरू बोलौँला फेसबूकमा कहिले, मन हतास हुन्छ भने।
मुक्तक ९
जाऊँ कता सधैँ जस्तो समयले यतिञ्जेल पर्खिदियो डुबेको घामजस्तै उमेर यसरी नै खर्चिदियो चाकरी भनेको हाट बजार रहेछ हिजोअस्तिको तरुण उमेर ऐना हेर्दा तर्सिदियो।
मुक्तक १०
आयौ जीवनमा एकपटक पुलुक्क हेरेर गयौ बस्छु सँगै भन्यौ तर एउटा साडी फेरेर गयौ चरीजस्तै डालीडाली उड्दै हिँड्यौ तिमी किन चियाउँछ्यौ भीडबाट जब त मुटु चिरेर गयौ।
मुक्तक ११
यदि मसिनो नै खान्छौ भने दाँतको के काम त्यसै दिन्छौ मन भने मायाको के दाम आउँछौ भने सरक्क आऊ नत्र बेइमानी सानी हुन्छौ नि बदनाम।
मुक्तक १२
चिउरा खान्छौ भने दही लिएर जाऊ कर तिर्दैनौ भने भारी बिसाएर जाऊ अनुहारमात्र मान्छे भएर के भयो खेल्न जान्दैनौ भने मैदान खाली गरेर जाऊ।
मुक्तक १३
भाषण सुनेर के गर्ने बन्दैन काम कति रिट्ठाको बिउ रोपेर फल्दैन कागती गोलीबिनाको बन्दुक भिरेर के गर्नु हेर त साथी हो! दिनहुँ हुँदैछ गोर्खाको अधोगति।
मुक्तक १४
उष्ण छ घामजस्तै यौवनमा हाम्रो जवानी धरती खोसिदिन्छे सहेर तनका केही लाज नमानी निष्पट्ट छ रात देख्दैन लीला प्रकृतिको उम्रनु छ नयाँ ज्योत्स्ना पिरतीको थाप सलामी।
मुक्तक १५
हृदय नै कोमल तिम्रो भन्न त म पनि सक्दिनँ पन्नाभरि हृदयमा लेखिरहन्छु गम्न त म पनि सक्दिनँ फूलजस्तै तिमी पत्थरजस्तै म मायाका छालहरू लुकाएर राख्न त म पनि सक्दिनँ।
मुक्तक १६
जब म मञ्चमा हुन्छु तिमी नेपथ्यबाट कानेखुसी गर्छ्यौ दर्शकका आँखा छलेर तिमीलाई हेर्छु अलिक पर सर्छ्यौ जुकासरि खुम्चिँदै तन्किँदै गर्छ्यौ भने भन मनचरी तिमी नै किन दोधारमा पर्छ्यौ?
मुक्तक १७
मनले मनलाई असाध्यै मन पराएर पो मार्‍यो हिउँझैँ मन पग्लाई दीर्घ रोगी गराएर पो मार्‍यो यस्तो खडेरीमा मनको बिरूवा सरक्क कसरी सर्‍यो? अब मनैमनले नभेटी नसक्ने अप्ठ्यारो पारेर पो मार्‍यो।
मुक्तक १८
रङ्गीन ऐना हेरे पनि तिम्रो अनुहार नै कोत्रे एउटा गाडी जसोतसो ल्यायौ त्यही पनि थोत्रे फोहोर फ्याक्ने घुर्‍यान छैन कुरा गर्छौ ठूलो निमुखालाई ठूला कुरा कहिलेसम्म जोत्ने?
मुक्तक १९
घरी छेलिँदै घरी देखिँदै आफ्नो रूप बनायौ किन? दोबाटोमै भेटौँ भन्थेँ लिन आयौ किन? अस्ताएको घाम पनि कहिलेकाहीँ न्यानो लाग्छ मोह मनभरि बोकी मलाई देखी मुस्कायौ किन?
मुक्तक २०
म लक्ष्य खोज्दै भीर उक्लिँदैछु हो कि होइन मेरो लक्ष्य झुक्किँदैछु हरेस नखा भन्छ माकुरो आँट, भरोसा निख्रिएर पाइला खुक्लिँदैछु।
मुक्तक २१
तन बुढिन्छ नै प्रिये! मन बुढिँदैन बिना पैयाँ रथ पनि गुडिँदैन उमेरको रङ्ग मनमै त छ नि हात-पाउ नचलाए पोखरीमा पौडिँदैन।
मुक्तक २२
जित्यौ तिमीले जिन्दगीको दौडमा हारेँ म बेमौसमी चउरमा छामेर नै शान्तिको सास फेरेँ मैले आलिङ्गन नै अतिशय मीठो लाग्थ्यो प्रौढमा।
मुक्तक २३
झरनाझैँ छ चोखो यो मन तिमी थपक्क बस तिम्रै लागि खुलेको छ यो दिन आऊ सुटुक्क पस देख्नेले जतिसुकै कुरा काट्छन् काटिरहून् किन धकाएकी यस्तरी आऊ कम्मर कस।
मुक्तक २४
सुसेल्दै बगेका नदी हेर सुन्दर रमाउँछन् भुरा माछाका बगुन्दर म त हुन्छु लट्ठ हेरेरै रमिता कति स्वच्छ रहन्छ हेर त्यो समुन्दर।
मुक्तक २५
तिमी पानी भएर बहनू, म तिर्खा भएर आउँछु मेट्नलाई तृष्णा म निजै धाउँछु फरक त खै के छ र हामीमा? बगर र नदीको सम्बन्धसरि म त एकै पाउँछु।
मुक्तक २६
फूलमै उदाउँछ्यौ हर बिहानी झपक्क निदाउँछ्यौ फूलकै सिरानी कतै ती पत्रदलहरूलाई हावाले लछारे भने नि त! हाँसिरहनू है तिमी फूलकी रानी।
मुक्तक २७
यस्ती जोडी चाहिएको छ जसले बेजोड मुक्तक लेख्न सकोस् कसैले चलाए बेकसुर परेको बेला हाँसी-हाँसी थेग्न सकोस् हुतिहाराहरू लछेप्रै देखिसकेँ राजै! दु:खसुखका हरेक प्रहार रत्तीभर नडगमगाई छेक्न सकोस्।
मुक्तक २८
तिम्रो छड्के नजरले मलाई हान्यो तिम्रो मोहले त झनै मलाई तान्यो एँसेलु खाँदै अस्ति वैशाखमा खिचेको सेल्फी तिमी माया म मोह भएकै ठान्यो।
मुक्तक २९
अँगालो पर्खिरहेछ प्रणयका साथहरू चिसिँदैनन् पुनर्मिलनका जुनेली रातहरू भरोसा राख सानू! समय अवशेषमा देखिँदैनन् मनभित्रका हामी दुवै मिलेका बातहरू।
मुक्तक ३०
फलिरहन्छन् कोपिलाबाट ससाना फलहरू पर्ख प्रिये कुनै समय आउनेछन् ती पलहरू रात गहिरिए पनि परात पलाउँछ आउँछ मधुरस लिएर वैशाखमा नयाँ नलहरू।
मुक्तक ३१
गारो लाउँछु भनेर ढुङ्गा बेच्छन् राहत जति आफ्नै पुर्पुरो सेक्छन् गाउँको ऐना फुटाएर अनुहार हेर्नेले आफ्नै माटो मरेको बिपना के देख्छन्।
मुक्तक ३२
एउटै रहेछ चाहना दुरूस्तै भएछ मन मीठा ती शब्दहरूले उज्यालो भयो तन प्रेम त हो नि सागरसरह सलल बग्ने उमेर ढल्दै जाँदा माया कसिलो होस् झन्झन्।
मुक्तक ३३
धोका हुन्छ मबाट भन्ने जान्दाजान्दै ढिलो हुन्छ तिमीलाई थाहा थियो भन्ने ठान्दाठान्दै ढिला-सुस्ती गरिरह्यौ नपत्याएर मलाई कहिल्यै उत्तर दिएनौ मैले फोन हान्दाहान्दै।
मुक्तक ३४
पीर एउटै रहेछ सबैलाई केही छैन बेग्लै अनिद्राले कुरा खेलेर नै सपना देख्दै प्रेयसीको यादले छटपटाएपछि निदाउनुको आनन्द रातभर एकलै।
मुक्तक ३५
तिमी झरिली सुन्दरी भएर मोहले कसैले नलगोस् भनी पाएँ विद्रोहले लौ छिटो हिँड बाटो काटिहालौँ सानू! नत्र टिप्लान् छाया तिम्रो अति लोभले।
मुक्तक ३६
आऊ प्यारी अँगालोमा शीतल छाया दिउँला दुवै मिली दु:खसुखको एउटै मुटु जिउँला मीठो माया तिम्रो मोहित भएँ म हामी दुवैको मुटु पनि एउटै धागोले सिउँला।
मुक्तक ३७
बाउले जिउँदो हात्ती चढेछ मरेकोमा छोराले चढ्न खोजेछ गाउँलेले कुरा काटेछन् र भनेछन् कस्तो छोरा हुतीहारा रहेछ।
मुक्तक ३८
आँसु त हो मन बुझेपछि सुकिहाल्छ अँगालोमा बाँधिएपछि नै माया फुकिहाल्छ तुसारो जति पर्छ परोस् तर शीतको बिहान सूर्यको प्रभासँगै लुकिहाल्छ।
मुक्तक ३९
मुटु नाङ्लोजस्तै हो माया निफन्न सक्छ कहिलेकाहीँ हृदय पनि पहिरोसरह बग्छ उभिएर हेर त आफै आफूलाई मनले मनलाई नै कत्ति साह्रो ठग्छ।
मुक्तक ४०
उकालो हेरेर कहिले चढ्छौ र साथी हिँडिरहे पुगिहालिन्छ माथि हारको पाइला पछि सार्नुभन्दा जो चाल्छ कठिनका पाइला उही हुन्छ आँटी।
मुक्तक ४१
मूर्खको मुखबाट तारिफभन्दा विद्वान्को गाली सुन्नू अर्काको लुगा मागी लाउनुभन्दा आफ्नै फाटेको तुन्नू बेकामे कुरा गरी समय बर्बाद गरेर के लाभ केही काम छैन भने बरू एउटा राम्रो कविता बुन्नू।
मुक्तक ४२
झिकेर लैजाऊ मुटु यदि चाहन्छौ भने पर्खिदिउँला तिमीलाई मसँगै रहन्छौ भने नपर धोका दिनेहरूको क्षणिक जालमा मलाई पाउन केही दु:ख सहन्छौ भने।
मुक्तक ४३
रगत दिएर जगत् मागिनँ देश मैले, फगत एक टुक्रा भुइँ मागेँ न मैले तिम्रो इज्जत नासेँ न त नियमको परिधि नाघेँ तिमीमा नै दया छैन भने त बरू ढुङ्गा रसाउँला देश! आदेश शिरोधार्य गरेर सिमानामा वैरीलाई कति दागेँदागेँ।
मुक्तक ४४
सबरीको बयर जुठो भएन प्रेमको रस मीठो उमेरले सुन्दर ठिटाठिटीको प्रेम पराग छरितो आऊ बस छ सुगन्ध काँडा छ यदि बिझाउँदैन भने उडिजाला यौवनको राग समाऊ छिटो।
मुक्तक ४५
मेरो बाटो मेरो पानी मेरो माटो मलिलो छ खियाएर हात यही धरतीमा बाली अझै कलिलो छ डराउँदैन यो मुटु भरिएको छ साहस धेरै गलत्याएर हुन्न है यो पाखुरा निकै बलियो छ।
मुक्तक ४६
कति गोडेँ थली चियाको सप्रियो तिम्रो बाली मेरै करेसो मेरै माटो मलाई बनायौ माली तिमी त ठूलो मालिक भयौ रे, भाग्छौ बन्द गरी हिसाब अवश्य मिल्छ न्यायको अनि बज्ला ताली।
मुक्तक ४७
आऊ प्रेयसी प्रेमालाप गरौँ उमेर ढल्किजाला कसले रोक्छ र झरी साउन, खोल मनको ताला समय साथमा फुल्छ कोपिला काँडा हेरिरहन्छ नछान धेरै कलकलाउँदा कली उमेर नत्र धोका खाला।
मुक्तक ४८
निद्रा नाथे लाग्दै जान्छ रात भोलि पनि पर्छ लेख्छु मुक्तक रातको एक बजेछ कल्ले के पो गर्छ जाडो रात छ हृदय प्रभात छ सृजना रोक्नु हुन्न पढ्दैनन् साहित्य थाहा छ तैपनि नलेखे यो पनि मर्छ।
मुक्तक ४९
अनावश्यक प्रेम पनि पाप हुन्छ जतासुकैको प्रेम अभिशाप हुन्छ रोमाञ्चले होइन प्रेम बुझेर गर अनुहारले होइन व्यवहारले फलिफाप हुन्छ।
मुक्तक ५०
ढुङ्गा पानीभित्र छ ठोसे झिल्का झिलिक्क गर्छ जो कसैको प्रगति चाहँदैन ऊ सधैँ पछि सर्छ जति पछि सर्छ गाउँ, उति पछि पर्छ आफू अन्त्यमा प्रगतिबिना नै हारको मृत्यु मर्छ।
मुक्तक ५१
बाउको करङ ऊर्जा हो आमाको पसिना शक्ति छोडेपछि सन्तानले गुँड लाग्दैन पितृभक्ति निख्रिँदैछ गाउँ सुनसान छ अचेल परिआए कुनै सङ्कट सुस्केरा मात्र विपत्ति।
मुक्तक ५२
हिरा पाएपछि सुन बिर्सने काम बनाएपछि गुन बिर्सने कोही यस्तै हुन्छन् साथी तिहुन चाखेपछि नुन बिर्सने।