शोषितका शब्दहरू
शोषितका शब्दहरू — मुक्तिनाथ शर्मा 'शोषित'
कविता सङ्ग्रह · चौथो कृति · २०२५

शोषितका शब्दहरू

SHOSHITKA SHABDAHARU — ३३ कविताहरू · भूमिका: चम्पा दिवस

कविता-क्रम हेर्नुहोस् (३३)
समर्पण
समयको हुरीले हामीबाट पर.... अनन्तको ईश्वरसमक्ष जानुहुने प्रिय कवि कैलाश पाण्डेलाई।
कविता १

अक्षर: श्रद्धाञ्जली आमालाई

मलाई अक्षरले सोध्न थालेपछि नै मैले अक्षरसित बात गर्न थालेको हो। अक्षर मौन हुन्थ्यो सधैँ म आफै बोलाउँथे उसलाई कताकता बटारिएका साउँअक्षरहरू मेरो तोते बोलीसँग खेलबाड गर्थे 'ल'-लाई 'ल', 'र'-लाई पनि 'ल' भन्ने यही जिब्रो हो। ठूलो विद्यालय नै घर हुन्थ्यो महाविद्यालयहरू ढिकी, जाँतो हुन्थे। आमाको पिठिउँमा पटुकाले बाँधिएर जाँतोको फन्कोसँगै मकैका गेडाहरू पिसिँदै जाँदा आमाको कण्ठध्वनिबाट उच्चारित साउँअक्षरका प्रतिध्वनिहरू मेरा किताब हुन्थे ढिकीको भक्र्याङसँगै गिन्ती र पहाडाहरूको उच्चारण हुन्थ्यो। आमाको प्राथमिक स्वरबाट मैले उच्च अनि महाविद्यालय पढें अक्षरअक्षरबाट गुणात्मक शब्दहरूको शोध कार्य गरें। यदि कसैले मेरी आमा निरक्षर थिइन् भन्छन् भने म शिक्षित कहाँ हुन्थें आमा मनको कपीबाट अक्षर छापेर मेरो कलिलो गिदीभित्र शब्द छापिदिनुहुन्थ्यो। मैले कहिल्यै आमालाई शुल्क तिरिनँ न त आमाले परीक्षा लिनुभयो तै पनि म उतीर्ण भएँ। मेरो पाठशाला मेरी आमा।
कविता २

बाउ

बाउ हिँडेका डामहरूमा हिँड्न नमानेपछि नै बारीमा झाडी पलाएको हो। हलो चिरेर दाउरा बालेपछि मकै फलेन कोदो उम्रिएन खेतको कुलो लड्यो। नङ बड्न थालेपछि नै वासिङमसिन नल्याई भएन खेत बाँझियो गाईहरू पोका-पोका भएर गाडीमा छल्किँदै हिँडेपछि गोठमा आगो लाग्यो। अग्यार्निक नभई भएन घर रित्तै भयो बाउ मरे आमा विरहले हिँडिन् सिकसिकाउँदा छन् घरका भित्ता र भुइँहरू लेउ लागेर बलेसी। बाउको सञ्चय कोश रित्तियो आमाको दाइजो निखियो गाउँको रौनक दुबै, कतार, मलेसियातिर लाग्यो आमा सुत्ने भँडारमा चितुवा सुत्यो।
कविता ३

बाउ र म

मैले सानैदेखि देखेको मेरा बाउ कहिले चोया केलाउँथे डोको बुन्नलाई कहिले दुधेरो मस्काउँथे दुध दुहुनलाई मलाई बुबुमाम खुवाउँथे सिगान फ्याँकिदिन्थे नाना लगाइदिन्थे। लु पढ् छोरा ठूलो मान्छे हुनलाई खलीमट्टीको टुक्रो कलिलो हातमा दिँदै भन्थे धेरै पढ्नू, ज्ञानी हुनू। झुत्रो पहिरनमा मेरा बा मेरो भविष्य चमकाउन चाहन्थे कहिले हवाजहाजको ड्राइभर हुनू भन्थे कहिले पल्टनको क्याप्टन हुनू भन्थे। मीठो भात मलाई सुमसुम्याउँदै खुवाउँथे बाउको पसिनाले फलाएको वासनायुक्त धानको भात करेसोबारीमा आमाको जाँगरले उमारेको तर्कारी आज पनि नसानसामा तरल छ तरङ्ग छ, चञ्चल छ, उर्वर छ। तर बाउ मरेपछि घर भाँडियो हावा फेरियो इतिहास च्यातियो। आज पनि छ त्यो बूढो घर बाउको एक जोडी दौरा-सुरुवाल। मर्मत गर्न तिनै पुराना डाँडाभाटाहरू फेरि एकपल्ट गाउँ फर्किँदैछु।
कविता ४

मेरो हजुरबा

घर चुहिए पनि टाल्न छोडेनन् अशिक्षित थिए तैपनि हिम्मत हारेनन्। कम्मरमा पटुकी बाँधेर पटुकीमा खुकुरी भिर्थे कर्द, चकमक र झुलो पनि हुन्थ्यो दापमा दलसिङ ढुङ्गामा झुलो च्यापेर ठ्याक्क पार्थे चकमकले झिलिक्क आगो निस्कन्थ्यो आफ्नै मेहनतको कटुवा खान्थे क्यानसर लागेन। सय वर्षसम्म तगडै रहन्थे छरमौरी, खागो र भिरमौरी कठेउरी अनि पुत्काको मह तनतनी बटुकामा पिउँथे उखुको खुदो भरपेट खान्थे डायबेटिज भएन। नौनी घिउको छेलो खेल्थे खारेर मजाले पिउँथे लिबर खराब भएन। दुई धार्नीजति खसीको मासु पोली खान्थे गाउड भएन। राघिलो तोरीको तेलमा उसै रातो सेलरोटी दुई कोरी मजाले पचाउँथे ग्यास भएन। रिठ्ठाको दाना कुटेर साबुन बनाउँथे स्याम्पो चाहिएन। मेरो हजुरबा!
कविता ५

तिमी निदायौ होली

रात निक्कै पर्‍यो प्रिये! म त यसै बसिरहेछु तिमी त निदायौ होली। मलाई संसार प्रश्न गर्छ गाउँ लाखेस् भन्छ झुल्न खोज्छु खै केले हो झकझकाउँछ मलाई अचेल कुन्नि के हुन्छ। कहिले त्यो साहु ऋणको खाता बोकेर आउँछ कहिले सिमाना नमिलेको कुरा भन्न त्यो पल्लो गाउँको कान्छा आइबस्छ हेर न एउटा निवेदन लेखिमाग्न रने आइपुगेछ कता हो धनवीरेकी स्वास्नी पोइला गइछ मलाई पो जारी उठाइदेऊ भन्छ साइँलीको मग्नी भएछ पर्सि जन्ती आउने अरे चाँजो मिलाइदेऊ भन्छ तिमी त निदायौ होला प्रिये! मलाई त केले-केले भइरहन्छ। घरको खाँबो मक्किएछ धमिरा लाग्यो होला त्यो ढल्यो भने आपत आइलाग्छ लु फेरिहालौँ। नानीलाई ज्वारोले अस्तअस्त पारेछ अस्पताल लैजाऊ भनेको पैसा छैन भन्छ वीरे पाँच हजार माग्छ एटीएम बिग्रेर ग्यासको पैसा दिएको छैन दोकानेले र्‍याकर्‍याक पार्दै छ देश जान्छ अरे पैसा देऊ भन्छ तिमी त निदायौ होली प्रिये! मेरो त आँखा काँचै छ। पर्सिदेखि चुनावको प्रचार गरिदिनु अरे नेताले फोन गरेछ कता हो पोस्टर च्याताच्यात् भएर पुलिस आएछ सम्झाइदेऊ भन्छ माथिल्लो गाउँमा भोलि बैठक अरे सूचना आको छ तिमी त निदायौ होली प्रिये! मेरो मनमा कुरा खेलिरहेको छ। चारैतिर दुखाइले हाहाकार छ हजार-हजार रुपियाँ दिनु अरे बोनस नआएर अलपत्र छ ला! आजै ग्यास सकिएछ पर पोल ढलेर बत्ती नआउने भएछ भोलि सप्पै जानु अरे आफूलाई बिसञ्चो भइराखेको छ तिमी त ढुक्कले निदायौ होली प्रिये! मलाई पो अप्ठ्यारो छ।
कविता ६

जिन्दगी

देख्दै नदेखेको सपना काँडामाथिको पाइताला डुब्दो घाम नदी सुकेको बगरजस्तै रहेछ। अस्थाइ अस्थीपञ्जर उडिरहेको बादल बिदाइ र आँसु बियोगान्त कथाहरूको सँगालो आगमन र गमन खरानी पो हो कि जिन्दगी! भेट्न खोज्दाखोज्दै उम्किजाने लक्ष्य नसमेटिने तारापुञ्ज बिर्सिंदै गरेको माया एउटा कङ्काल पसल हो रहेछ जिन्दगी। बत्ती निभेपछिको साँझ गन्तव्य हराएको गोरेटो फुटपाथमा छानेरछानेर छोडेको सामान पो हो कि जिन्दगी! सम्हाल्दासम्हाल्दै पोखिएको तरलजस्तै रहेछ कतै मायाको धागोले उनिएको कुनै पराकाष्ठमा पुग्न नदिने नमीठो परिकारजस्तै रहेछ जिन्दगी।
कविता ७

आगो

मनभित्र पनि बल्छ नि आगो! बली पनि त रहन्छ बाहिर धुवाँ नदेखिए उत्ताप हुँदैन र! खाली मनको आगोमा जति जलन छ त्यति बाहिर हुँदैन जलन चिसो पानी पनि उत्तिकै जल्छ जत्तिको संसारदेखि हार खाएको लास शान्तिको आगोमा जल्छ। तन चाउरिन्छ मन रुन्छ र गल्छ देह मन निदाउँछ बुद्धको शान्ति खोज्न बुद्ध हिँडे शान्तिको एकान्त ईश्वर खोज्न कतै फूलको कोमलतामा पनि शान्ति घराशायी छ मन उडाउने बतास अर्कै छ। उमङ्गको आँखाले ज्योत्स्नाको प्रभा कम्पन भए निद्राको तकियामा सपना आइपुग्छ के त्यो ईश्वरको पराकम्पन हो? मायाको कसिलो बन्धन नै निभाउँछ जलनको आगो हाँस्छ मान्छे शान्ति जल छर्किए पनि एकातिर बुद्ध— शान्तिको मन्त्र जप्थे अर्कोतिर यशोधरा— वियोगको उत्ताप सहन्थिन्। ईश्वर मौन थियो।
कविता ८

सपना

मैले सपनालाई कहाँ देखेको हो र! त्यो मध्यरातमा बाक्लो निद्रामा कानेखुशी लाउँदै जब मलाई कुतकुत्याउँछिन् अनि त उनलाई झल्यास्स देखें। झस्किएको निद्रबाटै खोजें छामें तर ऊ मबाट सुटुक्कै भागिछिन्। उनको लुकीछिपी गर्ने बानी कत्ति राम्रो! त्यो कालो रात तैपनि सुटुक्क आउँछिन्। होला! धरतीदेखि पर एउटा छुट्टै आकाश उनको बस्ने घर। तर सपना कहिल्यै बिपना बन्दिनन् सपना देख्नेहरूको आलो कथा उनी सुनाउँदिनन् उनी भन्दिनन् सपना निभिएपछिको मेरो आँगन रोएको कथा मेरो आवास सल्किएको कथा मेरो मुखबाट झरेको रातो तातो रगत देशले ठगेको भोको सपना।
कविता ९

थुक्क पसिना!

पसिनै पसिना छ्यापछ्याप्ति बग्यो बगिरह्यो बग्दै पनि छ तर पसिनोले अधिकार पाएन। पुर्खाको पसिनो चियाबारीले सोस्यो बाबुको पसिनो यही माटोले सोस्यो मेरो पसिनाले यो देश उर्वर बन्यो शरीरभरि पहिरो चल्यो पसिनोको मूल फुट्यो बग्दै बग्दै पसिना समतलको बगरमा स्याप्प सुक्यो थुक्क बगर! मेरो अनमोल पसिनाको मोल छैन भन्छ सोध्दा— यो ठाउँ तेरो होइन मेरो पसिना निखिएको छाला कार्गिलको पाखाभरि सुकाइयो देशले मेरो छालाको जुत्ता लगायो सिमानाको बङ्करभित्र पसिना। देश आजादीमा भाग लिँदैथिइस् तँ पसिना देशभित्र शङ्का गरिन्छ तँलाई बासमाथि प्रश्न गरिन्छ थुक्क पसिना! तक्मा र मेडल भिरेर के भयो यही पसिनाको चुस्की लिन्छ बिहानै विश्व बजारले नाम राख्छ 'बेड टी' यही पसिनाले देशको इज्जत राख्छ जय महाकाली! आयो गोर्खाली यही पसिना एका बिहानै पिएर भन्छ— अनेक भालो दार्जीलिङ टी। फेरि पनि तँलाई नै लाञ्छना थुक्क पसिना!
कविता १०

भुँडी

आज भुँडी भर्न परदेश जाने दिन। आमाले सतुसामल हालेर बाटोमा खानु है भनिन् सँघारबाहिर आशिष् दिँदै चाँडै आएस् है पनि भनिन् गहभरि आँसु बोकेर त्यो रात भोकै सुतिन् आमा। चिठी लेख्दै गर्नु है भन्थिन् डल्लेकी आमा ल्हासाजस्तै होला परदेश भोटे दाइजस्तै मित्र पाउँछु कि! मनको लहड बन्दगी राखेको घरबारी फिर्ता गराउने बाबाआमालाई खुशी राख्ने डल्लेकी आमालाई गहना किनिदिने मनको इच्छा। चिठी आइपुगेछ बाबा बिते अरे ठेला उठाएर डल्ले श्रमिक भएछ मेरो देशमै मेरो परिचय हराएछ घरबारी लिलाम भएछ।
कविता ११

जुत्ता

मान दिने शान दिने टिलिक्क टल्किएर अभिमान दिने यो मेरो दशैँको जुत्ता। बैशालुको भाव बोक्ने प्रियसीको नजर रोक्ने उमेरको तातो उमङ्ग रहर बोकेर यताउता कुदिरहने ट्वाक्क ठोकिँदा चुकचुक लाग्ने कालो रङले भिजेको अबोध जुत्ता। मूलबाटो गोरेटो उकालो ओह्राालो मलाई बोकी हिँड्छ दैलोबाहिर पर्खिन्छ मन्दिरभित्र पस्दैन न बिछ्यौनामा ढल्किन्छ भनौँ भने भित्र जान लजाउँछ मेरो नयाँ जुत्ता। कोट, प्यान्ट, सर्ट, टाईमा सुहाउँछ दौरासुरुवालसँग उसै खुल्छ छि: छि: टेकेर घिनाउँदैन बरु मलाई पो सिकसिकाउँछ। हिउँद बर्खा काटेछ आज कसरी फाटेछ बल्ल छुट्टी पाएछ त्यो गोरुको छाला तुर्लुङ्ग झुण्डिएर गाडीको अघिल्तिर भन्दैछ आज त्यो बुरी नजरवाले तेरा मुह काला!
कविता १२

सिरक

बगुन्द्र काला रात अप्सोच, पीडा र उन्माद सिरेटो लुगलुग ठिही उमेरसँगै बहकिने क्षणक्षण आँखाभरिका निद्रा ममाथि सुषुप्त, स्वप्निल आलस्य सिरानीबाट सुटुक्क सपनाको याद नानीदेखि अन्तरमनसम्म मलाई न्यानो साथ दिइस् बिजाइनस् न कहिले न छटपटाहटले मेरो तानिएर च्यातिँदासम्म दु:खले गनगनाइस्। बेहोस मात्तिएर सुराले मेरो बान्ता आउने निस्वास सहिस् आपस्तको मन किटाउने श्रीमतीको फुटेका चरचर चर्‍याउने नारीका कोपरेर अनुहार काँचका चुराले महलम भएर नरम थपथपाउँदै मलाई सुताइस् जीर्ण पोको रुवाको फड्किएर पुनर्जीवन तेरो चिटिक्क सफा मुहार लिएर सुत्न मैसँग आइस्। तँ सिरक! जत्ति तातिन्थिस् तँ उत्ति निदाउँथें म संसारको भाव आकाशमा तैंले कस्तो साथ दिइस् मात्र तेरै भरोसामा व्यस्त धेरै स्नेहले छोपिराखिस् मलाई मति माया सुतेका छन् तँसँग उमेर लुकेका छन् कति तँसँग। तर निष्ठुरी छु म उदयले कुतकुत्याएर आतुर हुत्याइराखेर तँलाई चट्ट बिर्सिदिन्छु दिनभर फेरि भने प्रणय लिएर आइपुग्छु ल टुप्लुक्क बस्दै गर।
कविता १३

अचेल निरास छ गाउँ

गाउँलाई बिसञ्चो छ बाँझै खेतका गह्रा देखेर परदेश लागेको छ मन। डल्लीका तिनैवटी साथीहरू विदेशमै छन् कुन्नि के गर्दैछन् नरमाया तम्सिँदैछे हर्केलाई पनि चैन छैन। खैनी माड्दै गोरु उभ्याएर गम्छ बाजेको हरिनास फुटेको आमैको गल्यानी फाटेर चरचर खुन निक्लेको। यसपालि सुन्तलालाई भाइरस लागेको कुचो र आलुको दामै नलागेको बल्ल अदुवामा भाव आउँदैथियो त्यही पनि अनिश्चितकालीन बन्दले घरमा मुसा रुने भयो। अपोजिसनमा लागे ठीक हुँदैन अखबारमा एउटा शीर्षक यस्तै थियो। पोजिसनले काम नकाटेपछि मेनपावरलाई भिसा मिलाउन हलुङ्गेको थाल, काँसाको चुठुवा, ताँबोको ताप्के पनि बन्दक हुने भयो। हर्के विदेश जाने नै भो खेतबारी पनि बाँझै भो हेर त मान्छेलाई मानसिक रोग लागेको।
कविता १४

योद्धाको लास

हत्याराको विजय होमिदिनेको शहीद अबलाको पराजय सन्तानको दुर्भाग्य छतविछत निर्ममता क्रुरहरूको बर्बरतामा मारिन्छ सिपाही। बन्दुक बोकेर कन्दरामा उक्लिँदा भन्छ शासक मेरो वीर योद्धा फर्किन्छ लास बाकसमा जब भन्छ तिमीलाई यो त विदेशी पो त। देशभित्र निजी शहीदको चिहान छैन बहादुरीको कुनै सम्मान छैन भनौँ भने तिम्रा निम्ति शहीद निष्पक्ष बोलिदिने कानुन छैन। तिमी भन्छौ मेरी आमा देशले भन्छ चिन्दिनँ म तिमी नुनको कुरा गर्छौ ऊ गुणको कुरा गर्दैन। स्वास्नीको आँसुले लपक्क भिजेर अप्ठ्यारो सोलामाथि दाउराले थिचेर इरादै इरादामा यसरी धुवाँउँदै जलिदिन्छ योद्धाको लास विस्मृतिको गर्भमा किनारा लागेर।
कविता १५

पर्दाभित्र म भ्रुण

भ्रुण म उन्मादको तातो तरल काखभित्र स्खलित त्यो क्षण न्यानो क्रन्दन अनि ताप युद्ध विजय एउटाको प्रस्तुति अर्काको पराजय समर्पणको एउटा ध्वनि अर्को प्रतिध्वनि डरले गुम्सिँदै समयसितै हुर्किनु थियो क्रम आनन्दमा फ्याँकिएको तेज निस्तेज फेरि मायाको भावमा उम्रिँदै-उम्रिँदै टेस्टट्युब विकाशक्रममा दैनिक समस्याहरूको अखडामा शीतयुद्ध जोखेर जीवन तराजुमा कसरी आएँ? किन? कहाँबाट? आदिमको चरित्र वर्तमानको विषय प्रस्तुति एउटीको छाती चुस्न मान्छे मान्छेकै काल्पनिक फोहोरबाट फिलुङ्गो आगोको जल्न पनि सक्थ्यो ब्रम्हाण्ड पिण्ड यसरी मान्छे भएँ के तिमी अर्थ्याउन सक्छौ मेरो पुनरागमन अथाह?
कविता १६

गाउँ

यति विघ्न विस्मय बोक्छ गाउँ ओइलाउँछन् सधैँ ऋतुहरू प्रश्नको ओजनिलो माला लाएर उत्तापमा शीत पर्छ यहाँ शीतमा उत्ताप लेबल फेरिँदै आउँछ बोतल फेरिँदै आउँछ मात् त्यस्तै लाग्छ दाम फरक छ/महँगो छ तिरङ्गामा लपेटिन्छ गाउँको छोरो क्षणभर निस्ताउँछ फेरि सुस्केरा निचोरेर, भाग्यमानी निधारको बुडो गाउँ चाउरी पर्छ आइपुग्दैन संसदको नेटवर्क ग्रामीण विकासको पारित बिल बहुमतले ताली ठोकेको मण्डलीकरणका कानुनी ठेकेदार गोजीबाटै निकाल्छन् जस्तासुकै कानुनहरू फसलेलाई फसलको दाम थाहा छैन पसलेके दाम खान्छ फसले पसिना बेचेर पसिना किनेर पिउँछ गाउँ खाल्डाखुल्डीमै हिँडिदिन्छ सयदिने रोजगार स्या! स्या! जेष्ठ नागरिक यो देशको भाषणदार नेताको हस्ताक्षरित सयदिने आई त हाल्छ अर्को साल आफ्नै भोटको चोट सेहेर-सहेर आफै निरुत्तर छ उफ्! यो अभागी गाउँ!
कविता १७

भेट्टिस् च्यान्टे! भेट्टिस्

मेरो बाछो भोकै पारेर तेरो ढाडे पोस्याउँथिस् मेरै बारीको मुला चोरेर तँ ह्वास्स गनाउने डकार्थिस् भेट्टिस्! मेरै खेत सुकाएर तेरो बाली सफाथिस् मेरी स्वास्नी बुच्चै पारेर तेरी रखौटी सिँगार्थिस् मेरै ठेकीको दही हसुरेर तैंले भुँडी फुलाउँथिस् भेट्टिस्! अब त गाउँमा हाम्राहरू पनि स्वर निकालेर भुके हिजोसम्म धुलै नटेक्ने साँप्रा तेरा सुके आनन्द मेरो तैंले लुटेर मोज मज्जाले खाइस् बल्ल पालो मेरो आयो तैंले खुच्चिङ पाइस् भेट्टिस्!
कविता १८

यो मन्दिर

हो यो मन्दिर फुटेको दियोमा बाती जलाउन मान्दैन शोषणको तेल अहङ्कारको सलाई धूप झोस्न जान्दैन तिर्सनामा खजनाहरूको मन्त्र फुरेको सहँदैन बाहिर माग्छ भगवान् तिम्रो हात पसारी हेर भोको पेटले मन्दिरको त्यो नमो नारायण मान्दैन तिनको सानो आन्द्रा आँखामा ईश्वर आफै रुँदैछ आफ्नै पेटको तृष्णा क्षुधा त्यै पानीले धुँदैछ हेर त गएर भित्र मन्दिरमा पण्डित भेटी गन्दैछ दिऊँ दक्षिणा गरूँ प्रदक्षिण चढाऊँ बस्त्र भलिभाँती कलेटी परेका ओँठ डराउँदै खान केही माग्छ लक्ष्मी तिनै कलिला बालिका लाज कसले ढाक्छ दिन दुरुस्तै रातजस्तै छ रात झनै सुनसान दिऊँ केही देवता तिनै हुन गर्नु किन अपमान गुफाभित्रको ईश्वर बोल्दैन हुन तिनै परमेश्वर जान।
कविता १९

त्यतिखेर

तिमी तिम्रै रात ओछ्याएर एउटा मौनता सुतिदेऊ झुत्रा सपनाकाशमा म पीर भएर तर्साइदिन्छु बिहानका गफहरू सउती गरिदिन्छु क्षितिजबाट थुतेर। ब्युँझिएर तिमी त्यही सुनाइदेऊ सपना सुन्नेहरूलाई दौतरीका पवित्र सिउँदोहरू बिवस्ताको रातो धर्काले अधिकार जमाएको कथा ओठमा उनेर भनिदेऊ। म ल्यामपोस्टनेर छायामा पर्खिएको हुन्छु तिम्रो दोछाया कुरेर।
कविता २०

टीको निधारको

गुच्छागुच्छा आशिषसरि चामल निधारको परिधिभरि शताब्दी अनेक घुम्दै अझै निरन्तर रहोस् बाँझो नपर्दै यसले युग बोकेर पुनर्जीवन बाँचोस्। तर कत्तिका निधारमा होइन चामल बाँच्नलाई क्षुधाको तिर्सना ढ्याम्म डकारुञ्जेल अघाओस् निलेर कठै ती चामल, ती अक्षता त्यहीँ उसको आशिष बनोस् रमाओस् तिनको सारङ्गीको खोक्रो भुँडीजस्तो रित्तो पेट। अतएवं, टाँसोस् पनि प्रेमले थोरै रातो टीको दुर्गाको प्रसाद भनेर क्रोध परास्त गरेको प्रतीक र परिचय हाम्रो चाड दुबोझैँ फैलियोस् आँखाहरूमा रसाओस् मनमनमा सजाओस् झुप्रोहरूमा मगमगाओस् र उमङ्गले टल्कियोस् सदैव रातो टीको माझ निधारमा।
कविता २१

चाहना नटुसाउँदै

आँखैआँखाको बिस्कुन सुकाउँछ उदाङ्गो भोलि भविष्य खान्छ मान्छे ट्वाल्ल जीवनको चौतारोमा नाङ्गो क्षितिज हेर्छ भरे भोलिका गान्तीहीन सङ्ख्याहरू गन्नौ नपाई मेटिन्छ घरि पीर घरि आशा मनको बाफभित्र उसिन्दै निल्छ टुसाउँछन् छातिभित्र भरोसाका बिरुवाहरू झरी पर्खेर मलिलो मनको पर्खाल उठ्छ आफै जीवन श्रेणी बडार्छ समय मनका सिन्काहरूको गुँड लाउँछ आँखा चाटेरचाटेर हुर्काउँछ भविष्य सप्रोस बाली भनेर अनि फल्छन् कतै अहम् त कतै निरासाहरू।
कविता २२

तिमीभित्र तिमी नभएपछि

नाचिरह्यौ जीवनको रङ्गशालामा पल्टाइरह्यौ नलेखिएका पन्नाहरू कल्पनाका पखेटा टाँसेर उडेऊ ती सुन्दर क्षण आँखाको पर्दाभित्र-भित्रै राखेर निदायौ दोछायाको नेपथ्यबाट धमिलो बाफ ध्वाँसोले पोतिएको छाती टालटुल पारेर चलाएको मनको छाला सिँगारेर सन्तुष्टिलाई सजाउन खोज्यौ ओँठहरू कमायौ अनुहारको चाया पुछेर पुलुक्क हेरेऊ तिमीभित्रै एउटा अन्तरद्वन्द्व कुदिरहेथ्यो तर तिमी त्यो हृदयबिहिन परदेशलाई मेरो देवता भनिरहेथ्यौ यसरी भित्ताभरि निशब्द पोस्टरहरू च्यातिँदै थिए खै कुनि तिमी कतातिर थियौ!
कविता २३

अभावको भावभित्र म

म बेचिएको छु पहिल्यै उसँग यसरी बाध्यतामा अङ्कुस लागेको हातीजस्तै त्यही शासकको उपासक भई निछरोसरह। न प्रणयको बन्दन न स्वतन्त्र मनको गनथन निर्भीक आकाशमाथि उड्न नपाएर बाँधिएको छु। कुनै निकुञ्ज छैन डुल्नलाई कुनै हात छैनन् स्नेह पाउनलाई। मेरी तनखा तरुणी भेटिरहन्छे कुतकुत्याउँदै मलाई क्षणभर हातमा रङ लगाउन श्रेणी-श्रेणीभित्र आऊ अक्षरको सुगा रटाइ मेरो जीवन गीत बन्छ। प्रहरका घण्टीहरू घोडाको चाबुकझैँ दुखाउँछन् मलाई दशदेखि बाह्र हुँदै तीन ऊ जान्दिन मेहिनी मलाई चिसो स्पर्श सताउँछे कहिले अनि तातो आवेगले कहिले। समयको खुट्टा टेकेर म पसिनाका थोपा निचोर्दै हिँड्छु चिप्लो, चिसेनी र भिरालो बाटो आइपुग्छे फेरि समय सखी बिहानै लजाउँदै।
कविता २४

अस्तित्व त्यहीँ छ

जत्ति भेडो कराउँथ्यो उत्ति सोक्पा भाग्थ्यो। फुटेर आपस्तमा यसरी भेडाहरू कान खोज्न थाले खौलो, कान्लो, भिर, पाखा कानले— कानले— भन्दै। आख्यान गर्थे भेडा गोठाला बहुमतमा भ्या— भ्या—को नाराले भागे त सोक्पाहरू। लुकुनीको निद्राभित्र भेडाको सपना घिउ, राडी, गोठको आनन्द पोलेको औषधी भेडाको घिउ काठको टुङ्ना, भेडीको छाला काँल्दाज्यै गोठाला नाच्थे/रमाउँथे दुई धार्नी पोलेको मासु पचाउँथे भन्थिन् अरे जी आमै हाम्रा बाउलाई तेरा बा'ले बाघ पछार्थे खिसाबाट झुलो थुतेर दलसिन ठोक्थे ठ्याक्क हाम्रा जिजु/बराजु ओसिन्नथ्यो फिलुङ्गो सलाईजस्तो मकै मन नपरेर शहर पसे नाती/पनाती पपकर्न खान ड्याडसँगै ड्रिङ्क गर्न छाडेर सबै आधुनिक भए सन्तान पुन: सोक्पाको पालो के बेर दोहोरिन छोडेर घर, खेत, गाउँ, खेतालो र ब्याँसी दुरुस्तै जङ्गल फैलियो फेरि लान लुटेर रहलपहल उब्रिएको अलिकति अस्तित्व खै के मन पर्‍योपर्‍यो परिचय गुमाउन हामीलाई फर्कौं एकपल्ट गाउँ आमैले राखेको गाडधन हेर्न।
कविता २५

बोल मन! मौनताबाट बोल!

न बोलेऊ न हिँडेऊ मनका खुड्किलाहरू चढेर झोसेऊ बारूद मनकै सलाइले कत्ति पोखिँदा हुन् जवानी कत्ति फुट्दा हुन् पट्ट कामुक पराग/संरचनाका तरूण उमङ्ग भमराबिनै तपतप ऋतुका म्यानबाट तलवार खच्किँदो हो सिरानी अँठ्याएका आलिङ्गन। जलौँ त ज्वालो छैन मन जलेको उत्ताप छैन लाभा पग्लेर आफै कोल्टे पर्छ तन/बिस्तरामा चरक्क चिर्छ आरा विवस्ताका रुखहरू आकाशको विशालताबाट खस्छ जून नत्र आत्महत्या गर्छ कप्टी मन बरू तुरूक्क पोख परेलीको पानी सम्बोधन शितलताकोद्य।

(धनकुटा, नेपाल– सल्लेरीको आत्मकथा)

कविता २६

कत्ति सानी छौ प्रिये!

कत्ति सानी छौ प्रिये! नानीमै अटाउँछे उनी कत्ति कोमल लाग्छ मलाई आँसु भई बिलाउँछ्यौ नि! कहिले सोचेर निद्रा छैन बिपनामै सपना देखिन्छ्यौ हर्छ कि कसैले भनेर आफसोच मलाई नै बनाउँछ्यौ कुरे कत्ति दिन जिऊसँगै भनेर लडें मुर्छा परेर लाग्यौ बाटो पराइको अनि। खोइ त कसम मन्दिरको सिउँदो मैले सजाएको खोइ त पोते लगनको त्यसदिन मैले लगाएको। सबै तोडेर आज मोह हत्या गर्यौ देखेर क्षणिक मोजको सपना पश्चतापको कथा सुनायौ।
कविता २७

ए पोखरा! एक क्षण ल!

डाफे लजको बार्दलीबाट मौसमको चिसो स्पर्श उगेल्थ्यो परिवेश माथिबाट कुन्नि के सुसेल्थ्यो पहाड फेवाताल स्वर्णिम लालित्यमा जिस्किन्थी छातीबाट उठाएर तरङ्ग दुवै इत्रिन्थे मलाई पो कुरीकुरी लाग्दथ्यो मान्छेको बिहान नफक्रिँदै प्रेमिल साउती बोल्थे कस्तरी उत्ताउलिँदै रिसले चुमुरिँदै आकाश धुम्म मुन्टो बटार्थ्यो गाउँबाट ग्वाल्नी उसको जाँगर बेच्न अनि किन्न महँगो खुद्रा सामान आजको छाक टार्न ढुङ्ग्रोभरि दुध र दही ढोकाढोका घुमाउँदै थिई शान्ति, कुमारी अनि मनिसा कुचो लाउँथे सुग्घर राख्न आँगन बसन्ती काखे छोरीको झाडा/बान्ता स्याहार्थी मङ्गले छाक टार्न तल/माथि खेप्ने मटर पुछिरहेथ्यो उसको देवता उसको ईश्वर।
कविता २८

यहाँ दर्शन छैन र!

ईश्वरको अभावमा मूर्ती पुज्छ मान्छे मनको एकाग्रता पोखेर शान्ति उमार्छ सायद उसको भगवान् हाँस्छ त्यहाँ आद्र आँखाबाट ओर्लिन्छन् थोपाथोपा निस्तेज पानी जडहरूमा मन रोपेर चेतनाको धूप बाल्छ मन्दिरको बन्द ढोकाभित्र जाग्रित भगवान् ठिङ्ग उभिन्छ शिरको उँचाई निहुराएर आफै आफूलाई ढोग गर्छ के त्यहाँ दर्शन छैन र! लाटाको मौनतामा आँखाले शब्द बोल्छ इशाराको सङ्केतमा ध्वनि छक्कपर्छ मुटुको साँचो खोलेपछि लाटीको चित्त हाँस्छ दृष्टिको महिमाभित्र स्वयम् ऊ कारण बन्छ चाहनाको फूल लाटीको फुल्छ मोह-मोह जोडा मिलाउन मिलन आलिङ्गन तमाम चाहन्छ अब प्रणयको रहर समेट्दै प्रसुतिको आलाप गाउँछे परागसँगै अमुक भाषा काव्यमय बन्छ शब्द प्रभावलाई नियाली हेरौँ त उसको रहरमा दर्शन बोल्दैन र!
कविता २९

ह्याङ्गर

त्यसरी तुर्लुङ्ग छ आधुनिक तराजुमा उमेरहरू जसरी छ बर्खे झरीमा ओसिएका पातहरू मन पानीजस्तै बग्छ पखेटा भए उडौँ भन्छ तन निशान छैन मान्छेको काबु पार्न सक्तैन आफूलाई छताछुल्ल ऐनाको रङ्गिनभित्र उमेर अनि चरित्र भागिरहेछ उसको उदासिन चरित्र पोखिन्छ बेस्सरी निचोरिएर समेटिँदैन चञ्चल हुन्छ जहिल्यै गम्भीर कहिले वसन्त ओइलायो निखारिरहेछ जानीजानी जवानीका आगोहरू जिउनु अभिशाप भन्छ रोगी हृदयको पाहुना र सुस्ताउँछ बेस्सरी जीवन मूल्य पर्खिएर तौलिरहन्छ झुण्डाएर ह्याङ्गरहरूमा।
कविता ३०

रङ्ग-रङ्गमा

छासमिस भएछ रङ्ग लागेर रङ्ग धमिलिएर कतै बेरङ्ग उन्मादलाई छोएर उत्तेजनाका धुमिल प्रस्तुतिहरू। रङ्ग-रङ्गमा छ्यापिएर पोतिएर खुशी छरिएर उसको लालिम आँगनभरि तर्दाको तुनाहरू खकुलिएर उमेर छर्लङ्ग छ। हुन पनि उल्लास न हो चुही त हाल्छ बतासिएका पखेटाहरू माथि-माथि रङ्ग-रङ्ग नै रङ्गको आलिङ्गनमा किन पो नचोमलिएला?... दर्शन उसको रङ्ग अरे बानी पनि रङ्ग यसैले त रङ्गमा रङ्ग मिसिएर बिरङ्ग सधैँ दोहोरिन्छ त्यो यौवनको पोखरीमा आहाल खेल्न।
कविता ३१

मोह र माया

प्रत्येक साँझ फुल्छे रातकी रानी झर्छ प्रत्येक बिहान एउटा गुलाफ तिखा काँडा मास्तिर छैन उन्माद अब तरूणीको फिका उमेर घामको उत्तेजना युवकको पुरुषार्थ शिशुको वात्सल्य एकैसाथ झरे हाँगाबाट आँखाबाट अनुहारबाट त्यति नै बेला मनको प्रणय पनि डुब्यो क्षण पर्खिएर क्षितिजको रातो घामले बुद्धको पद्मासन ध्यान मुद्रा देख्यो शान्तिको मुखबाट प्रणव ध्वनि फेरि आकाश रोयो बादल खस्यो रूवाइको हिक्का थत्मरिन नपाई त्यही शुन्य ध्वनि उनि ध्वस्त त...ल एक मुस्लो धूवाँ आहा! यता गुलाफ फुल्यो उता दन्कियो मोह र माया।
कविता ३२

मेरी कविता फेरि कविता

शुभकामना छ स्वच्छ बस मनमा पस सम्झनाका कविता! तिमी मनमा बस सधैँ मसँग-सँगै उदाएर सुनौलो क्षितिजमा तिमी मेरो वाङ्मय म भावना युगलहरू अँगालिएर चुमुन फर्रर उडोस् बतासमा प्रकृति आउ प्रिय! बस सेता मनका पन्नाहरूमा हिँड जिस्किँदै अघि-अघि म पाइला पछ्याउँछु।
कविता ३३

नमस्ते

नमस्ते प्रत्युत्तर नमस्ते तत्काल लिन पाइने आदरणीय यो उधारो हुँदैन भेदभाव पनि छुँदैन यो ध्वनि प्रतिध्वनि भई लौटिन्छ शब्द मुखमा दश औँला जोडी नमस्ते यो मूल्यवान् प्रसाद सानो ठूलो हुँदैन लिङ्ग भेद रहँदैन यो आनन्द र खुशीको प्रतीक अतिथिलाई सान ठूलाहरूलाई मान गुरुलाई गरे ज्ञान ईश्वरलाई त झन् वरदान हो मनको निर्मल जल हो दण्ड घटाउने ओखती परायलाई मीत बनाउँछ यो मानवताको दर्पन एवं अलङ्कार हो।