शोषितका शब्दहरू
नयाँ र अप्रकाशित रचनाहरू

नयाँ रचनाहरू

मुक्तिनाथ शर्मा 'शोषित' — कविता · निबन्ध · मुक्तक

रचना-सूची हेर्नुहोस्
भानु जयन्ती २०८२ · आषाढ २९
कविता

भानु आस्ताएकै छैनन्

न कहिल्यै अस्ताउछन् भानु न त अस्ताए केवल थोरै मेघले त्यो रूप छल्यो न कुनै आँधीले त्यो पहाड ढल्यो जब जन्मियो त्यो रवि बस्यो राम नाममा अस्मिताको छवि ढल्दैन आत्मिय मूर्ति रम्यो रमायो नेपाली जगतमा स्फूर्ती रम्घा, तनहुँ, चुँदीब्याँसी आहा, बाँच्यो घाँसी पनि उसै नाची नाची युगले नाम लियो राम सगै घाँसी युग युगान्तर जियो जो थियो धन उसले कुवा खनायो नाम आफ्नो सँगै नेपाली हृदयमा राम नाम बनायो छेक्दैन बादल चाहे ज्वालामुखी फुटोस् मर्दैनन् भानु या त मनको दियो फुटोस् मशाल त्यही हो, विश्व नेपाली जय भानु बोल्छ उदाइ रहन्छन् शीतल प्रभा न त मुटु पोल्छ अन्त्यमा त्यही नेपाली हो जसले हृदयबाट भानु बोल्छ।
जेठ २०८३ · जेठ १६
निबन्ध

संग्रह + आलय → संग्रहालय

यहाँ पुस्तक संग्रहालय र पुस्तकको माझमा एउटा सेतु छ जो नदीका दुई किनाराहरूलाई जोड्दछ। जोड्नु भनेको शक्ति हो। संग्रह अर्थात् बटुल्नु, थुपार्नु, भेला पार्नु, जतन गर्नु, एकै ठाउँ पार्नु र बचाइ राख्नु। किताब, कृति, पुस्तक, काव्य, महाकाव्य, पत्रिका इत्यादिलाई जसरी सम्बोधन गरे पनि, मान्छेले आ-आफ्ना अध्ययनमार्फत् उपार्जन गरेका वा तयार पारेका — मानव समाजको आर्थिक, बौद्धिक, सामाजिक उन्नतिका लागि, र कृषि सुधार, बागवानी जस्ता अति प्रयोजनका विषयमा लेखि राखेका ठेली (किताब) — जसले भविष्यमा पनि शुद्ध विचारमूलक उपलब्धि मानिने विषयहरूलाई दिनहुँ बदलिँदो पिढी दर पिढीलाई अझ प्रखर गरी नयाँ दिशा निर्देशन र वैज्ञानिक अनुसन्धान तर्फ अधि बढाउन निकट भविष्यका देशका कर्णधार भनिने विद्यार्थी-विशेषलाई कुनै अड्चन नहुन दिन वर्तमानमा नै एउटा शुद्ध चिन्तनमार्फत् यस गरिमामय विषयलाई यसरी पुस्तक संग्रह गरिनु यो मामूली र सरल विषय होइन।

प्रथम त स्वयं सिद्ध शुद्ध विचारको भावनात्मक परिकल्पनाको अभिवृद्धि भई परिकल्पनालाई कार्यान्वयन गरी राष्ट्रको गरिमालाई उच्च मूल्याङ्कन गर्ने पवित्र सोचलाई ढिलो नगरीकन, एउटा आदर्शताको जिम्मेवारी आफैमा राखेर यो पुनित कार्यसञ्चालन गर्नु निकै कठिन थियो। तर "तँ चिन्ता, म पुऱ्याउँछु" भने जस्तै गरी यति महत्वपूर्ण विषय हालमा लिएर, त्यो पनि वर्तमान सभ्यताको एक अपरिहार्य, अत्यन्त आवश्यक विषय — पुस्तक संग्रहालय तयार गरेर कार्यान्वयन गरिनु नै अति महत्वपूर्ण विषय हो।

अतएव यस संग्रहालयभित्र साहित्यका विविध विषयदेखि लिएर धार्मिक, सांस्कृतिक, लोक साहित्य, कला नेपाली, अङ्ग्रेजी तथा अन्य भारतीय भाषाहरूमा लिखित काव्य र सिद्धान्त, वेद र उपनिषद् अनि पुराण जस्ता विषय, जो मानिसको दैनिक जीवनमा चाहिने उपयोगी पुस्तकहरूको जोगाड पाइन्छ।

बदलिँदो युगको चाहना स्वरूप विज्ञान र मनोविज्ञानका ठेलीहरू, र कृषि-बागवानीका इत्यादि पुस्तकहरूको भेला-संग्रह गरिनुले सिक्किम राज्यको गौरव बनेको छ। साथै साहित्य लेखनमा ऊर्जा थपिएको छ भने पाठकहरूमा पुस्तक पठन-पाठनमा जाँगर पलाएको छ।

अन्न थन्क्याउने भण्डार भने जस्तो, वा भकारी भने जस्तो — पुस्तकको रूपमा कवि, लेखक, इतिहासकारद्वारा लेखिएका मौलिक विषयलाई यस संग्रहालयले जगेर्ना गर्ने, जतन गर्ने जिम्मेवारी लिएको छ।

अतएव सिक्किम राज्यको नाम्ची आज एक धरोहर बनेको छ भन्नमा कुनै दुईमत छैन। यो गर्व लाग्दो एक ऐतिहासिक विषय हो। यसको श्रेय उसैलाई जान्छ, जसले यस्तो पवित्र विषयलाई कार्यमा परिणत गरेका छन्।

वर्तमान समय भनेको नेपाली साहित्य, संस्कार, संस्कृति, आचार-व्यवहारप्रति रुचि घट्दै गइरहेको बेला हो। बढ्दो अत्याधुनिक कल्चर-कुकल्चरहरूको मानव बस्तीहरूमा आक्षेप भइरहेको बेला, अनि साइबर कल्चरले मानव हृदय अनि मस्तिष्कमा समेत घात गरिरहेको समय — जब मान्छेको विचार नै पलायन-वादी हुन्छ अनि झन् शुद्ध वैचारिकता खच्किन्छ। यस्तो परिस्थितिमा यो कार्यले केही हदसम्म हाम्रा भविष्यका कर्णधार भनिने विद्यार्थीहरूलाई त यो सुनमा सुगन्ध नै साबित छ।

नेपाली भाषीहरूको त यो संग्रहालय सरस्वतीको मन्दिर सरह छ। आज हामीले आफ्नो जातीय भाषा, साहित्य, संस्कार र परम्परालाई तिरस्कार गरेर अति सस्तो पश्चिमी संस्कारलाई पछ्याइरहेको बेला, यी पुस्तकहरूले राहत दिएको छ।

हाम्रो अहोभाग्य मानिने उक्त संग्रहालय सिक्किम, दार्जीलिङ तथा दार्जीलिङका नेपाली-बहुल क्षेत्रका लेखक, कवि, नाटककार, समालोचक, इतिहासकारहरूको ज्ञान भण्डार बनेको छ भने छिमेकी मुलुक नेपाल, आसाम, मणिपुर तथा भारतका भिन्न-भिन्न स्थानमा बसोबास गर्ने नेपालीहरूलाई समेत लाभान्वित छ।

नेपाल, झापा, धुलाबारी स्थित त्रिफला अन्तर्राष्ट्रिय पुस्तकालयसँग हातेमालो गरी, हामी Divine Theological Open University (DTOU) नेपाली पुस्तक संग्रहालयमार्फत् थप नेपाल राष्ट्रका विद्वानद्वारा लिखित विभिन्न ओजनिला पुस्तकहरू उपलब्ध गर्न सक्छौं।

धेरै कति कति मूल्यवान पुस्तकहरू मुसाले काट्यो, बेथानका भए — हराए, जलेर खरानी भए। लामो युग बित्यो। समय परिवर्तन भयो। कति यो आधुनिक विज्ञानमय मानव शैलीलाई नभई नहुने औषधीय विषयमा लेखिएका खोजपूर्ण, अनुसन्धानमूलक पुस्तकहरू नाश भए — किनभने हामीसँग यस्तो जोगाड थिएन, साधन थिएन। ठूला ठूला विश्वविद्यालयहरू थिए तर सब-कोहीले सम्पर्क राख्न गाह्रो थियो। यसर्थ नै अहिले पश्चाताप बेहोर्नु पऱ्यो। विदेशी ढाँचामा तयार पारिएका किताब पढ्न बाध्य भयौं। नचाहिँदो मुगलकालीन इतिहास पढ्न पऱ्यो — आवश्यक थिएन।

हाम्रा लागि हाम्रै परिवेशका रमाइला इतिहासहरू थिए, वीर गाथा थिए। भूगोल र कृषि, विज्ञान, संगीत अनि कला, रसायन शास्त्र हाम्रै थिए, र छन् पनि। तर हामीलाई विदेशी रस भिज्यो। तर अब बिस्तारै यी हाम्रा उपलब्धि स्वरूप संग्रहालय र पुस्तकालयतिर जाने बानी गरौँ।

आफ्ना निकट भविष्यका सन्तानहरूलाई नेपाली भाषा साहित्यतिर लक्षित गरौं। पुस्तक उखु जस्तै मीठो र स्वादिलो छ तर चुस्न सकौं। हामी मूर्खवीर छौं अब ज्ञानवीर बनौं।

अन्त्यमा, सिक्किम नाम्ची स्थित पुस्तक संग्रहालयको अझ टिकाउ र दीर्घायुको कामना सहित लेखान्त गर्दछु।

भानु जयन्ती २०८३ · आषाढ २९
कविता

आफैलाई गाडेको छु

मैले आफै खनेर चिहान आफैलाई गाडेको छु हिड्दा हिड्दा थाकेर अचेल जुलुसमा हिड्न छाडेकाे छु धेरै आए जाेगी खरानी घसेर त्येस्ताहरुलाई नमस्ते गर्न छाडेकाे छु मैले २ माटाे माटाे भन्नेहरुकाे तुजुक हेरेको छु भन्छन भन्न त माटाेकै लागि कात्रो बेरेकाे छु माटाे हाेइन काट्टाे खानेहरु पाे धेर छन कि क्या हाे माटाेमा हाेइन गाड्धन सिन्टेक्समा छ अरे खबर हेरेकाे छु ए ,,,,,भानु बा रगतको साइनो छ तिमी संग शंका गर्छ सरकार हामी संग दिन्छु भन्छ जब उठ्छ प्रसंग यस्ता धेरै दुखाइ छन हामी माझ खै कता हरायो तेरा सपना मेरा सपना कतै भ्रम त हाेइन ? मनै हुन्छ झसङ्ग ।
साउन २०८३
बालकथा

गौंथलीको गुँड़

दुईवटा भाले र पोथी गौंथली रहेछन्।

समय पनि फागुन चैतको महिना परेको रहेछ। यसैमा ती भाले पोथी गौंथलीहरूले एक दिन रनेको घरको सिकुवामा आएर यसो हेरेछन् र सल्लाह गरेछन्।

पोथी गौंथलीले भाले गौंथलीलाई भनिछ; ए... हजुर सुन्नुन है... भाले गौंथलीले पनि तुरुन्तै पोथी गौंथलीलाई भनेछ— हजुर के कुरा भन्न लागेकी, भनिहाल न, म सुनिराखेको छु त। फेरि पोथीले भनिछ, हेर्नुन बर्खा लाग्न आँट्यो, यसो एउटा गुँड़ बनाएर अण्डा पारेर बच्चा कोरल्नु पर्ने अनि एउटा उचित ठाउँ हेरौं न है। यसरी पोथीले आग्रह गरेपछि भाले— तुरुन्तै लु हेरौं न त। तिमीले ठीक उचित समयमा यो कुरा गरेउ, म त तिम्रो बुद्धिमानी देखेर छक्क परें। अब ढिलो नगरीकन यही रनेको घरको सिकुवाको छानो मुनि गुँड़ बनाऊँ। तर रनेले गौंथलीले फोहोर पार्छ भनेर हाम्रो गुँड़ त भत्काउँदैन होला नि— पोथीले भनिछ।

भालेले भनेछ, यस घरमा पनि हामी दुई जस्तै लोग्ने स्वास्नी मात्रै रहेछन्; त्यसो हुनाले न भत्काउनु पर्ने। बरु सम्हालेर राखी पो दिन्छन् जस्तो लाग्छ मलाई त। यिनीहरूको पनि छोरा छोरी रहेनछन्। कतै हामीलाई बास दिए भने त्यही धर्मले यी दुईको पनि सन्तान जन्मनेछन्।

यसरी ती दुई गौंथलीले त्यसै दिनदेखि— रनेको घर सानो भए पनि चिटिक्क खरले छाएको र रातो माटो र कमेरोले भित्ता लिपेको अनि भुइँमा गाईको गोबरले चिटिक्क पारेर लिपेको, आँगनको चारैतिर सयपत्री, मखमली फूलहरू रोपेको अनि आँगनको भित्तामा तुलसाको मोठ, उसै चार कुना मिलेको। सधैं रनेकी श्रीमती चम्पाले पूजा गरेको धूप धुवाइ रहेको र एउटा तामाको दियो पनि बलिरहेको अति सुन्दर घर आहा...

अनि त्यसै दिनदेखि ती दुवै भाले पोथी गौंथलीले अलिक पर सिमसारको हिलो माटो बोक्न थालेछन्। विचराहरूको त्यो स-सानो चुच्चोमा कति पो माटो अटाउँथ्यो र! तै पनि अलि अलि गर्दै ओसारेको माटोले पन्ध्रौँ दिनमा निकै ठूलो गुँड़ बनाएछन्।

त्यस दिन रने र चम्पा भने खेतमा बाली लगाउन गएका रहेछन् र बेलुकाको त्यो पहेंलो घाममा पसिनाले निथ्रुक्कै भिजेर रने र चम्पा घर आइपुग्दा त ती दुई गौंथलीले उनीहरूको घरको छानो मुनि यति राम्रो गुँड़ बनाएकोमा रने र चम्पा हर्षले गदगद भएछन्।

बीस बाइस दिनपछि गौंथलीका छ वटा बच्चा भएछन्। ती छ वटै बच्चाहरूलाई ती माउ गौंथलीहरूले पालैपालो चुच्चोमा चारो ल्याउँदा रहेछन्। घरी अन्नका दाना, घरी फट्याङ्ग्रा, पुतली, गँड़ेउला।

यसरी दिनहुँ चारो ख्वाउँदा ख्वाउँदा बच्चाहरू बढेर ठूल्ठूला भएछन्।

रने र चम्पा पनि काम गर्दा गर्दा थाकेर हैरान भएका बेला तिनै गौंथलीका बच्चाहरू उडेको हेरेर आनन्द मान्दा रहेछन्। यसरी ती गौंथलीहरूको ठूलो बथान भएछ र घरको चारैतिर गुँड़ बनाएर बसेछन्। अनि त रनेको घरमा निकै सह बसेछ। फलफूल अन्नबाली लहलह भएछ। थांग्रमा मकै, भकारीमा धान, कोदो, फापर फलेछ। केही पछि त नानी हो रने र चम्पाको पनि छोरा छोरी भएछन्। रनेले छोरीको नाउँ पनि गौंथली नै राखेछ अनि छोराको नाउँ आकाश राखेछ।

छोरी दिनदिनै ठूलो भइछ। आँगनमा खेलिरहेको छोरीलाई चम्पाले गौंथली भनेर बोलाउँदा हजुर आमा म आउँदै छु भनेर खुरुरु कुदेर उसकी आमा चम्पाको काखमा बसेर गाईको बुबु सँग माम मज्जाले खाँदी रहिछ। यसरी आकाश र गौंथली दिदीभाइ मिलेर स्कुल जाँदा रहेछन्। घरमा पनि मन लाएर पढ़्दा रहेछन्। र सधैं पाठशालाको अर्धवार्षिक र वार्षिक परीक्षामा प्रथम दर्जामा उत्तीर्ण हुँदा रहेछन्।

रने र चम्पाले यसरी उनीहरूले मन लाएर पढ़ेको देखेर दशैंमा राम्रा राम्रा लुगाहरू किनिदिएछन्।

रनेकी छोरी गौंथली पढ़्दै गएर डाक्टर भइछ र आकाश पाइलट भएछ।

के तिमीहरूलाई पनि डाक्टर र पाइलट हुने मन छ? त्यसो भए मन लाएर पढ़ है त।

बालकथा

खबर त राम्रो थियो तर... धोका भयो !

नाउँ धनबीर थियो उसको। सानैदेखि पढ्नमा सिपालु, मेहनती–जाँगरिलो। प्राथमिक विद्यालयमा पहिलो, दोस्रो र तेस्रो श्रेणीमा हुँदा धनबीर जहिले पनि उसका साथीहरूलाई उछिनेर सबै विषयमा राम्रो र उत्कृष्ट अङ्क ल्याएर (FIRST) प्रथम हुन्थ्यो। त्यस पाठशालाका शिक्षक/शिक्षिका पनि धनबीरसँग साह्रै खुशी हुन्थे। त्यस पाठशालाको ऊ एक हुनहार विद्यार्थी थियो। साथीहरूसँग साह्रै मिलेर बस्ने बानी थियो। पाठशालाको खेलकुदको समयमा पनि ऊ कसैसँग झगडा नगरिकन मिलेर खेल्दथ्यो। त्यसरी नै चौथो श्रेणीमा पनि प्रथम भएर पुग्यो। सबैले उसलाई बधाइ दिए। प्रधान अध्यापकले त औधी माया गरेर धेरै थरी ज्ञानका पुस्तकहरू दिए, अनि नगद रकम र अन्य पुरस्कार दिए। गाउँघरका अरू अभिभावकहरूले पनि उसको धेरै प्रशंसा गरे।

त्यो डिसेम्बरको महिना थियो। त्यसपछि पाठशालाको शीतकालीन विदा भयो। त्यसरी नै जनवरी महिना सकिएर फेब्रुअरी महिनाको एघार तारिख पुनः पाठशाला र अरू उच्च विद्यालय खुले। धनबीरका पिताले छोराको सुन्दर भविष्य निर्माण गर्न अलिक टाढा शहरको एउटा हाई स्कुल (उच्च पाठशाला)मा पाँचौँ श्रेणीमा भर्ना गरिदिए। पहिला–पहिला त छोरालाई त्यति टाढा स्कुल जान गाह्रो पर्छ भनेर बिहान चाँडै उठेर हतार–हतार घरको काम गरिसकेर छोरालाई लिएर बाबु पनि हाई स्कुल छोरालाई पुर्‍याउन जान्थे। यसरी त्यो वर्ष पनि छोराले पाँचौँ श्रेणीमा सप्पैलाई उछिनेर प्रथम भएको कुरा त्यस विद्यालयका प्रधान अध्यापक र श्रेणी शिक्षक (class teacher) दुवैले फोनमार्फत धनबीरका बाबु खड्गसिंहलाई जनाए। त्यो असल खबर सुनेर आमा मनमती पनि आनन्दविभोर भइन्। त्यसरी खुशीले गद्‌गद् हुँदै त्यो परिवार रमायो। छिमेकीहरूले पनि धनबीरलाई बधाइ र शुभकामना दिए।

यसरी छैठौँ श्रेणीमा पनि धनबीरले प्रथम भएर सफलता हासिल गर्‍यो। तर जब सातौँ श्रेणीमा धनबीर पुग्यो, ऊ त त्यही शहरको एउटा रनबीर भन्ने फटाहा केटासँग लाग्यो। पहिले त रनबीर राम्रो होला भन्ने लाग्यो उसलाई। ऊ जस्तै पढन्ते होला भन्ने सम्झेर उसको संगत गर्‍यो। तर पछि त त्यो रनबीर त बदमास रहेछ। अर्को स्कुलबाट बदमासी गरेर उसलाई स्कुलले (रेस्टिकेट) — स्कुल निकाला गरेको रहेछ। त्यो केटा त खैनी, सिगरेट, बिडी, गुट्खा र कहिलेकाहीँ त रम, ब्रान्डी पनि खाँदै रहेछ। त्यति मात्रै कहाँ हो र; दोकानतिर चोरी गर्दै रहेछ। बाबा–आमाको account को पैसा निकालेर तास, जुवा खेल्दै रहेछ। कहीँ–कहीँ स्कुलमा अनुपस्थित बसेर पिक्चर हलमा पनि सुटुक्क जाँदै रहेछ। अर्काको बारीको बाख्रा समेत चोर्दै रहेछ।

एक दिन दलसिङ लामाको गाई चोरेछ र दलसिङले पुलिसलाई भनेछ, अनि एक रात थुनामा राखेर भोलिपल्ट भाग्नु परेर उसको बाउले स्कुल बदली गरेर कतै सुध्रिन्छ कि भनेर यो स्कुलमा पसेको रहेछ।

त्यसपछि त्यो बिचरा सोझो र इमान्दार धनबीरलाई पनि लोभ्याएर जबर्जस्ती सिगरेट पिउन सिकाएछ। उसले जे–जे नराम्रो काम गर्‍यो, त्यो सबै गर्न लाएछ र धनबीरको पनि उसको जस्तै नराम्रो कुलत लाग्न थालेछ।

त्यसो गर्दै त्यो सातौँ श्रेणीमा बल्ल–बल्ल उत्तीर्ण (अन्डर कन्सिडरेसन) भएछ। हेर्नु भयो? ए बा—! त्यो वर्षको वार्षिक रिजल्ट देखेर त उसकी आमा डाँको छोडेर रोइदिन्। बाबुले बेलुकाको खाना नखाई सुतेछन्। लाजले घरबाट निस्केर एक हप्ता घर आएनन् रहेछ। तै पनि आठौँ श्रेणीमा राम्रो अङ्क ल्याउनू है भनेर पुनः विद्यालयमा भर्ना (एडमिशन) गरिदिएछन्। तर लागेको बानी कल्ले छोड्छ र भने जस्तो, धनबीर पूरै असफल भएछ।

त्यति मात्रै कहाँ हो र! एक दिन त धनबीर दिउँसोसम्म सुतिरहेछ र उसकी आमाले किन साह्रै उठेन भनेर उठाउन जाँदा त सिरानीभरि रगत रहेछ। त्यो देखेर आमाले अतालिँदै आफ्नो श्रीमानलाई भन्छिन् र हतार डाक्टरकोमा लगेर जाँच गराउँदा त क्यान्सर भएको रहेछ।

यसै कारण भनेको हो — एउटा असल विद्यार्थी पनि कुसंगत र कुलतमा लाग्यो भने ज्यानै जोखिममा पर्छ र भविष्य अन्धकार हुन्छ।

यसर्थ जो विद्यार्थी छोरा–छोरी माता–पिताको र शिक्षक/शिक्षिकाको अनि आफूभन्दा ठूलाको जति उपदेश मान्दछ, उही ठूलो मान्छे हुन्छ। जस्तै — करमचन्द गान्धी आमाको अर्ति उपदेश मानेर भारत राष्ट्रको राष्ट्रपिता बने। ईश्वरचन्द्र विद्यासागर गरीब घरानाबाट ज्ञानी र यशस्वी बने। त्यसरी नै अलबर्ट आइन्स्टाइन विश्वविख्यात वैज्ञानिक बने। अब्दुल कलाम भारतका राष्ट्रपति बने। यहाँ धेरै उदाहरणहरू छन् नानीहरू हो। तिमीहरू पनि मन लाएर पढ, पछि ठूला मान्छे बन्ने छौ।